- कालोबजारीमा मुद्वा दर्ता हुदै
गोरखा समाचारदाता
गोरखा – गोरखाको निबेलमा रहेको एक निजी कृषि फामका सञ्चालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको भीमसेन थापा गाउँपालिका १ को निबेलमा रहेको हिमालयन गोरखा एग्रोफार्मका सञ्चालक र त्यसमा कामगर्ने कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
निजी स्तरमा सञ्चालित फार्मले युरिया, डिएपी र फोसफरस मल बजार मुल्य भन्दा बढी लिएर बिक्री गरेको उजुरी परे पछि प्रहरीले फार्मका सञ्चालक भक्त्तप्रसाद श्रेष्ठ र कर्मचारी रमेश श्रेष्ठलाई सनिबार नियन्त्रणमा लिएको हो । उनीहरुलाई हिजै गोरखा सदरमुकाम ल्याईएको छ ।
पक्राउ परेको दुवैलाई कालोबजारी अन्तरर्गत आज (आईतबार) मुद्वा दर्ता गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक बासुदेव खत्रीवडाले बताए । ‘पटक पटक त्यहाँका स्थानियले आफुहरु मल खरिदमा ठगिएको भन्दै गुनासा आउन थाले पछि सनिबार नै कार्यालयबाट गएको एउटा विशेष टोलीले २ जनालाई नियन्त्रणमा लिएरको’ उनले बताए ।
पक्राउ परेको कर्मचारीको भने दोष नदेखिएको तर पनि प्रमाण नष्ठ हुने आशंकामा उनलाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । फरक फरक मुल्यमा बेचिएको बिल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी टोलीले फेला पारेको विभिन्न प्रकारको ५३ बोरा मल मुचुल्का गरी सिल गरेको समेत कार्यालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्रका प्रमुख मनिता थापाले भीमसेन थापा गाउँपालिकाले युरिया मल प्रति केजी २१ रुपैयाँ ५० पैसामा बिक्री गर्ने निर्णय गरेको जानकारी दिईन । एग्रो फार्मका सञ्चालकले भने युरिया मल प्रति केजी ३५ रुपैयाँका दरले बिक्री गरेको प्रमाण भेटिएको छ । उनले ‘साल्ट्रेड्रिङ कर्पोरेशन अथवा कृषिसामाग्री कम्पनीबाट सोझौ खरिद गरेको भए युरिया प्रति बोरा १००० रुपैयाँ र डिलसिप प्राप्त जिल्ला भित्रका अन्य सहकारीहरुबाट खरिद गरेको भएमा प्रति बोरा १०७५ सम्म बिक्री गर्न पाउने’ बताईन् ।
डिएपी र फोसफरसको खासै माग नहुने भउका कारण मुल्य समेत नतोकिएको तर खरिद मुल्यमा जिल्ला दर रेटको डुवानी भाडाँ जोडेर १० प्रतिशत नाफा राखेर बिक्री गर्न पाईने ज्ञान केन्द्रले जनाएको छ ।
पछिल्लो समय नेपालमा मलको कारोबारमा कालोबजारी बढेसंगै सहकारी बाहेक कुनै पनि ब्यक्ति तथा ब्यवसायीले मलको कारोवार गर्न निषेध गरिको छ । फार्मले अधिक मुल्यमा बिक्री गरेको र ८ जना कृषकले लिखित उजुरी समेत दिएका कारण उनीहरुलाई आज कालोबजारी ऐन २०३२ अन्रर्गत मुद्वा दर्ता गरी अदालत पेश गरिने थप अनुसन्धान गरिने कार्यालयले जानकारी गराएको छ ।
यता प्रहरी र प्रशासनले भने सोही वडामा मलको कालोबजारी गर्ने अन्य २ जनालाई छुट दिएको भन्दै स्थानियले गुनासो गरेकाछन् । सोही वडामा केही साता अगाडी कृषि ज्ञान केन्द्रका प्रमुख सहितको अनुगमन टोलीले मलको कालोबजारी गरेको भेट्टाए पछि जिल्ला प्रशासनमा कारवाहीको लागि पत्राचार गरेको थियो ।


