गोरखा समाचारदाता
काठमाण्डौं – चीनको छोङछिङबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याईएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने नेपालको हिमालय एयरलाइन्सले छोङछिङजियाङबे अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वास्थ्य सामग्री लिएर आएको हो ।
उत्त सामाग्री हिमालयको एयरबस ३२०–२१४ कलसाइन नाइन एएलडब्लु कार्गो जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चिकित्सा उपकरण, परीक्षण किट, व्यक्तिगत सुरक्षा उपकरण, मास्क र पञ्जालगायत अन्य कोभिड–१९ औषधिजन्य सामग्री ल्याएको एयरलाइन्सले जनाएको छ ।
यी स्वास्थ्य सामग्री चीन सरकारले नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको हो । जहाजबाट ६ हजार ८९२ केजी स्वास्थ्य सामग्री ल्याइएको विमानस्थलले जनाएको छ ।
आजै नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सको वाइडबडी जहाजले ग्वाञ्जाओमा चार्टर्ड उडान भर्दैछ । स्वास्थ्य सामग्री ल्याउनका लागि एयरलाइन्स त्यसतर्फ जान लागेको हो । जहाज नेपाली सेनाले चार्टर्ड गरेको विमानस्थल श्रोतले बताएको छ । त्यसैगरी हिमालय एयरलाइन्सको न्यारोबडी जहाज पनि आजै छोङछिङ उड्नेछ । यी दुवै जहाज कार्गो चार्टर्ड उडान हुन् ।


