गोरखा समाचारदाता
गोरखा – नेपाल कम्युुनिष्ट पार्टी गोरखाले पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध बिस्तार अभियान सञ्चालन गर्ने भएको छ ।
नेकपाको गोरखा सदरमुकाममा भएको तेस्रो पूर्ण बैठकले आगामी ३ महिनासम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले चैत १ गते देखि जेठ मसान्तसम्म अभियान सञ्चालन गर्ने जिल्ला अध्यक्ष लेखबहादुर थापाले जानकारी दिए। अभियानमा पार्टी एकताको महत्व, सिद्वान्त, राजनीतिक र नीतिगत बिषयमा प्रशिक्षण गराउदै सदस्यहरुमा बैचारिक, संगठनात्मक एव भावनात्मक बिकास सुदृढ गर्ने, सदस्यता एकिकरण, नबिकरण, जनबर्गिय संगठन, मोर्चा निर्माण, पार्टीका बिभिन्न बिभागलाई पूर्णता दिने, घरदैलो पदयात्रा, टोलभेला र सभा गर्ने लगायतका कार्यक्रम तय गरिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रमको औपचारिक उदघाटन चैत १ गते सदरमुकाममा सरसफाई गरेर गरीने छ ।
बैठकले पार्टीका केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्रस्वास्थ्य लाभको कामना सहित बिशेष प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै जिल्लाको आरुघाट गाउँपालिका १ मान्वुमा बुधबार भएको जिप दुर्घटना ज्यान गुमाएका धार्चे गाउँपालिका वडा नम्बर ६ का वडा सचिव किरण रिमाल प्रति श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समबेदना प्रकट गर्दै दुर्घटनामा परी घाईते भएकाहरुको शिग्र स्वास्थ लाभको कामना समेत गरेको छ ।


