गोरखा समाचारदाता
गोरखा – जहाँनियाँ राणशासनका अन्त्य गरी देशमा प्रजातन्त्र ल्याएको दिनको सम्झना गर्दै आज देशै भरी विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवश मनाईदै छ ।
१०४ बर्ष लामो राणशासनको अन्त्य गरी प्रजातन्त्र ल्याएको दिनको सम्झना गर्दै आज ७० औं प्रजातन्त्र दिवश मनाउन लागिएको हो ।
जन स्तरबाट भएको क्रान्तिको माध्यामबाट प्राप्त प्रजातन्त्रलाई सरकारले फागुन ७ गते विभिन्न औपचारिक कार्यक्रम गरी मनाउने गरेको छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिनु परेको थियो । उनीहरूलाई तत्कालीन राणा शासकले मृत्युदण्ड दिएको थियो ।
नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
तत्कालीन राजा त्रिभुवनले नेपाल प्रजातान्त्रिक देश भएको घोषणापछि राणा र काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भएको थियो । आजै राजधानीको टुँडिखेलमा विशेषरूपमा यो दिवस मनाउँदै छ । देशका सबै जिल्लामा पनि यो दिवस मनाइँदै आएको छ ।


