गोरखा समाचारदाता
काठमाण्डौं – नेपाली बजारमा सुनको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाली बजारमा मंगलबार प्रति तोला ७६ हजार ७ सय रुपैयाँ कारोबार भएको हो । नेपाल सुन चाँदी ब्यवसायी महासंघले जनाए अनुसार मंगलबार प्रति तोला सुनमा २ सय रुपैयाँ बृद्वी भए पछि अहिले सम्मकै उच्च बिन्दुमा कारोवार भएको हो ।
महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार चीनमा देखिएको कोरोना भाईरसका कारण पनि नेपाली बजारमा सुनको भाउ बडेको हो । मंगलबार अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ५८७ डलर पुगेको छ । यो भाउ अझै बढ्ने पूर्वानुमान छ ।
यस अघि गएको पुस २३ गते सुनको मूल्य ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यस यता सुनको भाउमा केही उतारचढाव आइरहेकोमा मंगलबार तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै महंगो भएको हो ।
सुनको भाउ बडे संगै कारोबारमा मन्दी आएको महासंघले जनाएको छ । केही महिना अगाडी सम्म पनि बजारमा दैनिक ५० किलो सुन माग भएकोमा केही दिन देखी घटेर १० देखि १५ किलो मात्र बिक्री भई रहेको छ ।



