गोरखा समाचारदाता
काठमाण्डौं – गोरखाको नेपाने माविले पाएको विभिन्न शिर्षकको रकम मिलो मतोमा हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज काठमाण्डौंको विशेष अदालतमा मुद्वा दायर गरेको छ ।
सिरानचोक गाउँपालिका १ मा रहेको नेपाने माविले तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त विभिन्न शिर्षकको रकम मिलोमतोमा हिनामिना गरेको ठहर गर्दै प्रअ शिवकुमार शाह र प्राविधिक बिकास झा बिरुद्व विशेष अदालतमा मुद्वा दायर गरेको हो ।
नेपाने माध्यमिक विद्यालय सिरानचोक गोरखाको लागि तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त छात्रावृति, पोशाक, झोलाका लागि प्राप्त रकम सम्बन्धित बिद्यार्थीलाई वितरण नै नगरी हिनामिना गरेको, शौचालयको लागि प्राप्त रकम तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत/निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, झुठ्ठा नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदन एवं झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौट समेत गराई सरकारी सम्पत्ति बदनियत साथ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
विद्यालयलाई प्राप्त छात्रावृति, पोशाक, झोला, शौचालय तथा फर्निचर मर्मत/निर्माण शीर्षकमा ५ लाख ९५ हजार ४०० भूक्तानी भएको थियो । बदनियत साथ गलत कागजात तयार गरी हानिनोक्सानी गरी खाए मासेको हुँदा निजको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकोले प्रअ शिवकुमार साहलाई बिगो ५ लाख ९५ हजा ४०० सय कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकमसमेत असुलउपर हुन मागदाबी गरेको छ ।
त्यस्तै गरी शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव–इन्जिनियर बिकास झाले शिवकुमार साहसँग मिलेमतो गरी बदनियत साथ झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको ३ लाख ५० हजार हिनामिना तथा हानिनोक्सानी गर्ने गराउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेको तथ्य पुष्टि हुन आएको र निजले गरेको सो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कुसर भएकाले प्राविधिक झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी दफा १७ बमोजिम हानिनोक्सानी बिगो रकम असुल उपरको मागदाबी गदै आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आजै अख्तियारले नेपाने माविका प्रअ साहले तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार र रेट्रो मेन्टेनेन्सको २ लाख ५० हजार र मर्मत शीर्षकको १ लाख गरी ३ लाख ५० हजार समेतको रकम हिनामिना गरी झुठ्ठा बिल भरपाई तथा कागजातहरु तयार गरी अनुदान लिएको पुष्टि हुन आएकोले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले साहलाई हानिनोक्सानीको बिगो १५ लाख ९५ हजार ४०० कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय गरी हानिनोक्सानीको बिगो रकमसमेत सोही ऐनको दफा १७ बमोजिम असुलउपर गराउन मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हिजो (सोमबार) मात्रै प्रअ साहका विरुद्व जिशिकाबाट ट्रस भवन निर्माणका लागि लिएको १६ लाख १० हजार मध्ये ५ लाख रुपैया भवन मर्मत उपभोक्ता समितिलाई दिई बाँकी ११ लाख १० हजार र मर्मतको लागि लिएको १ लाख ५० हजार र साविक केराबारी गाविसबाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको ७२ हजार २९२ रुपैयाँ समेत हिनामिना गरेको भन्दै मुद्वा दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले Science, Math, English Lab निर्माणको कुनै कार्य नगरी, साथै साविक केराबारी गाविसबाट शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको रकम विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय तयार गरी, नक्कली बिल भरपाई पेश गरी आफूले गैरकानूनी लाभ लिने उद्देश्यले नेपाल सरकारलाई १३ लाख ३२ हजार २९२ रुपैयाँ हिनामिना गरी भ्रष्टाचारजन्य कसुर गरेको तथ्य पुष्टि हुन आएकोले साह विरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र दफा १७ बमोजिमको समेत कसुर भएकोले निज शिवकुमार शाहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिम सजाय माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च( बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुल उपर गरीपाउ भनि मुद्वा दायर गरीएको छ ।
सोही मुद्वामा शिक्षा विकास तथा समन्वय इकाई गोरखाका प्राविधिक सव–इन्जिनियर झाले साहसँग मिलेमतो गरी ट्रस भवन मर्मतको रकम फर÷फारक गर्नका लागि झुठ्ठा कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी मर्मत शीर्षकको ११ लाख १० हजार हिनामिना दुरुपयोग गरी गराएको तथ्य पुष्टि हुन आएकोले झाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा १९ को उपदफा (२) बमोजिमको भ्रष्टाचारको कसुर भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिम सजाय हुनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) बमोजिम सजाय गरी हानिनोक्सानी बिगो रकम सोही ऐनको दफा १७ बमोजिम असुलउपर हुनसमेत मागदाबी गरेको छ ।


