गोरखा समाचारदाता
काठमाण्डौं – चीनको विभिन्न शहरबाट आज १८५ जना नेपालीलाई ल्याइदै छ ।
चीनमा रहेका नेपालीहरुलाई लिन ४ जना सरुवा रोग विशेषज्ञ चिकित्सकसहितको नेपाल वायु सेवा निगमको विमान शनिबार दिउँसो चीन जाने छ भने मध्ये राति फर्कने तयारी पुरा गरेको छ ।
नेपाल ल्याईने सबैको चीनमै स्वास्थ्य परीक्षण गरिने र कोरोना भाईरस लागेको पुष्टि भएमा उनीहरुलाई चीनकै अस्पताल पठाईने र बाँकीलाई नेपाल ल्याइने छ ।
स्वास्थ्य परीक्षणका लागि ४ घण्टा अघि नै चीनको विमानस्थलमा उनीहरुलाई पुर्याइने नेपाली दूतावासले जानकारी दिएको छ । यस्तै नेपाल आए पछि पनि त्रिभुवन विमानस्थलमा फेरि स्वास्थ्य परीक्षण गरिने छ ।
नेपाल आएका मध्ये पनि परीक्षणमा कोरोनाको लक्षण देखिए टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लैजाने तयारी गरिएको छ । अन्य स्वस्थ व्यक्तिलाई भने भक्तपुरको खरीपाटीमा रहेको विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिने छ । उनीहरुलाई लिन गएको विमानका चालक लगायतलाई नगरकोटको खानेपानीको कार्यालयमा निगरानीमा राखिनेछ ।
उनीहरुलाई २ हप्तासम्म आफन्तसँग पनि भेट्न दिइने छैन भने चौबिसै घण्टा विशेषज्ञ चिकित्सकको निगरानीमा राखिनेछ । कोरोना नभएको पुष्टि भएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइनेछ ।


