गोरखा समाचारदाता
गोरखा – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले नयाँ बाटो हिड्न थालेकोले सर्व साधारणलाई अलि असजिलो भएको बताए ।
गोरखाको शहिद लखन गाउँपालिका ७ मा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संविधान निर्माण र संघियता कार्यन्वयनसँगै सरकार नयाँ दिशाबाट हिँडिरहेकोले सर्व साधारणलाई असहज महशुस भएको बताएका हुन ।
नेपालका प्रथम शहिद लखन थापाको एक १४३ औँ स्मृती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दाहालले संविधान अनुसार नयाँ ऐन, कानुन नियम बनाउनुपर्ने, कर्मचारी खटाउनुपर्ने, संरचना बनाउनुपर्ने कारणले चाहेजस्तो गती देशले अझै नलिएको बताए। तर उनले उत्त कार्यक्रममा छिमेकी देश र अन्तरराष्ट्रिय सम्बन्ध राम्रो रहेको समेत बताए ।
अध्यक्ष दाहालले गोरखा र धादिङको सिमानामा निर्माण हुने भनिएको १ हजार २०० मेघावाटको बुढीगण्डकी परियोजनाले गोरखा र देशकै बिकास हुने भन्दै मुआब्जाको अन्यौल टुङ्गिएकोले छिट्टै पुर्नबास र पुर्नस्थापनाको काम अघि बढ्ने बताए । कार्यक्रममा गोरखाबाट चीनको तिब्बत जोड्ने सडक नेपाली सेनाले निर्माण गरिरहेको र उक्त सडक गोरखाको ‘राईटलाईन’ को रुपमा विकास हुने समेत बताए।
विसं १९३३ फागुन २ गते राणा शासनको बिरोध गरेको भन्दै लखन थापालाई झुण्ड्याएर हत्या गरिएको थियो। थापालाई नेपाल सरकारले २०७२ असोज ३ गते प्रथम सहिद घोषणा गरेको हो।


