गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेशको तनुहँ र नवलपुर जिल्लामा एकै दिन लागूऔषध सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले तनहुँको सत्रसय र नवलपुरको चालिस किलो भन्ने स्थानबाट ४ जना पुरुषहरुलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले तनहुँको आँबुखैरेनी गाउँपालिका १ को सत्रसय बाट ना.१७ प ३३७२ नं.को स्कुटरमा यात्रा गरी रहेका लमजुङ जिल्ला सुन्दरबजार नगरपालिका ६ बस्ने २४ बर्षिय सुजन तामाङ र २० बर्षका आईते तामाङलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट प्रहरीले ५२ थान डाइजेपाम, ५१ थान नुर्फिन र ५३ थान फेनारगन गरी १५६ थान बरामद गरेको छ ।
त्यस्तै गरी प्रहरीले नवलपुर जिल्लाको कावासोती नगरपालिका १६ को चालिस किलो भन्ने जंगलबाट बसमा यात्रा गरी गरेका चितवन भरतपुर महानगरपालिका २५ का २९ बर्षिय नारायण क्षेत्री र २१ बर्षिय दिपेश क्षेत्रीलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले उनीहरुको साथबाट ५५ थान डाइजेपाम, ५५ थान नुर्फिन र ५५ थान फेनारगन गरी १६५ थान बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई आवश्यक कानूनी कारवाहीका लागि अदालतबाट म्याद थप गरी थप अनुसन्धान थालिएको सम्वन्धीत प्रहरी कार्यालयले जानकारी दिएको छ ।


