बेइजिङ – चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । यो रोगका कारण चीनमा मात्रै ३६१ जनाको मृत्यु भइसकेको छ । अर्का १ जनाको मृत्यु फिलिपिन्समा भएको हो ।
कोरोना भाइरसका कारण चीन बाहिर पहिलो पटक १ जनाको ज्यान गएको पुष्टि विश्व स्वास्थ्य संगठनले गरेको हो ।
यो रोगका कारण चीनमा मात्रै संक्रमितहरुको संख्या १७ हजार २०५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाए अनुसार चीनमा १ दिनमा २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका करिब २४ मुलुकमा फैलिइसकेको छ।
सोमबारबाट चीनको व्यापारिक क्षेत्र भने खुल्दै छन् । भाइरस संक्रमणका कारण खस्केको बजारलाई उकास्न केन्द्रीय बैंकले १ सय ७३ विलियन डलर उपलब्ध गराउने आइतबार घोषणा गरेको थियो।
भाइरस संक्रमितको संख्या बढी रहेको हुबेई प्रान्तका केही सहरलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासलाई जारी राखेको छ । जसका कारण करिब ५ करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ ।
सन् २००३ मा फैलिएको ‘सार्स’ महामारी जस्तै कोरोना भाइरस पनि विश्वका दुई दर्जन देशमा पुगिसकेको छ । यद्यपि नयाँ भाइरसबाट मृत्यु हुनेको दर भने ‘सार्स’ को भन्दा कम रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।
एजेन्सी




















