एजेन्सी
चिनियाँ जनमुक्ति सेनाले नोवेल कोरोना भाइरसको इपिसेन्टर वुहानमा १४ सय सैन्य स्वास्थ्यकर्मी खटाएको छ।
राष्ट्रपति सी चिनफिङको निर्देशनमा सैन्य डाक्टर र नर्सहरू आवश्यक खाद्यान्न र अन्य उपकरण बोकेर आइतबार वुहान ओर्लिएका हुन्।
उनीहरूले सोमबारदेखि काम थाल्नेछन्।
वुहान पुग्ने अधिकांश सैन्य स्वास्थ्यकर्मीले यसअघि सन् २००३ सार्स र सन् २०१४ मा पश्चिम अफ्रिकामा फैलिएको इबोला महामारीमा उपचार गरेका थिए।
उनीहरू केहीदिन अघि बनाइएको एक हजार शैयाको अस्पतालमा गएर बिरामीको उपचारमा खटिने छन्।
वुहानमा अर्को अस्थायी अस्पताल पनि अहिले धमाधम निर्माण भइरहेको छ। बुधबारदेखि उक्त अस्पतालमा पनि बिरामी जाँच सुरू हुने जनाइएको छ।
आइतबारसम्म चीनमा मात्र ३ सय ४ जनाको मृत्यु भएको छ भने १४ हजार ३ सय ८० जना संक्रमित छन्, तीमध्ये ११ सय १८ जनाको अवस्था गम्भीर छ भने ४ सय ४४ जना जोखिमपूर्ण अवस्थामा छन्।
चीनले कोरोनाभाइरससँग लडाइँमा आफ्नो सामर्थ्यले भ्याएसम्म गरिरहेको छ। गत सातामात्र वुहानमा दुई दिनभित्र हजार शैयाको अस्पताल निर्माण गरिएको थियो।
वुहानका स्वास्थ्यकर्मीहरू अहिले रातदिन नभनीकन बिरामीको उपचार गरिरहेका छन्। उपचारमा जाँदा उनीहरू आफैं पनि संक्रमण होला भन्ने त्रास हुन्छ। गत साता बिरामीको उपचार गरिरहेका एक जना डाक्टरले कोरोनाभाइरसका कारण ज्यान गुमाएका थिए।
अहिले उपचारमा खटिएका डाक्टरहरू लडाइँमा गएको सिपाहीजस्तो चनाखो हुन्छन्। श्वासप्रश्वासबाट सर्ने भएकाले उच्च गुणस्तरका मास्क लगाउँछन्।
उनीहरू यतिबेर मास्क लगाउँछन् कि अनुहारमा त्यसको छाप नै बस्छ । अहिले एउटा त्यस्तै तस्बिर चीनमा भाइरल भइरहेको छ।


