काठमाण्डौं – चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसको प्रकोपले अहिले सम्म ३ सय भन्दा बढीको मृत्यु भएको छ भने १४ हजार भन्दा बढीमा यो भाईरसले संक्रमण गरी सकेको पुष्टी भएको छ ।
कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ३०४ पुगेको अधिकारीहरुले जनाएका छन् । त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार नाघेको चीन सरकारले बताएको छ ।
३३० जना उपचारपछि पूर्ण रुपमा निको भएर घर फर्किएको चिनियाँ अधिकारीहरुले दाबी समेत गरेका छन् ।
अमेरिका र अस्ट्रेलियाले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै पछिल्लो २ हप्ता चीन भ्रमणमा गएका विदेशी नागरिकलाई आफ्नो देश प्रवेश गर्न रोक लगाएका छन् । अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई भने १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् ।
रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् ।
तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलिया यस्ता उपायविरुद्ध छन् ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले भनेका थिए, यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्याउन सक्छ ।
विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी छ ।
शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै १ हजार ९२१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।
एजेन्सी


