गोरखा समाचारदाता
काठमाडौं – प्रतिनिधिसभाको बैठक आज (सोमबार) बस्दै छ ।
पटकपटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुख उम्मेदवारको टुंगो लगाएपछि आजकोे बैठक बस्ने भएको हो ।
यस अघि पुस ११, १६ र २७ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक नेकपाले सभामुख उम्मेदवार टुंगो लगाउन नसक्दा सूचना टाँसेर स्थगित हुँदै आएको थियो । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचनको कार्यतालिकाका विषयमा छलफल हुनेछ ।
सभामुख चयन प्रक्रिया ३ दिनभित्र सक्नेगरी निर्वाचन कार्यतालिका बनाउने सम्भावना रहेको संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेकपाले हिजो सभामुख पदका लागि स्थायी कमिटी सदस्य अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले आजै राजीनामा दिने नेकपाले जनाएको छ ।
नेकपा सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन यस अघि नै आग्रह गरिसकेको छ ।




















