गोरखा समाचारदाता
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आज सरकारलाई विरोधपत्र बुझाउँदै छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् विधेयक सच्याउन माग गर्दै विरोधपत्र बुझाउन लागिएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
कांग्रेसले संविधानविपरीतका गतिविधिविरुद्ध पनि विरोधपत्र बुझाउन लागेको उनले जानकारी दिए । केन्द्रीय समिति बैठकले गत पुस २८ गते जिल्ला प्रशासन कार्यालयहरुमार्फत् सरकारलाई विरोध पत्र बुझाउने निर्णय गरेपनि पार्टीको आन्तरिक किचलोका कारण हुन सकेको थिएन ।
केन्द्रीय समितिले निर्धारण गरेको कार्यक्रम हुन नसकेपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आज ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो ।


