गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकामलाई सडक मानव मुक्त बनाउने अभियानमा जुटेको मानव सेवा आश्रम अहिले वेसाहाराको साहारा बन्दै गएको छ । सडकमा नै खाने र सडकलाई घर बनाएकाहरु मध्ये आश्रमले स्थापना काल देखी दजर्नौलाई उद्वार गरेर नयाँ जिवन दिएको छ ।
गएको हप्ता मात्रै पनि सदरमुकामबाट त्यस्ता वेसाहारा २ जनालाई आश्रमले उद्वार गरेको छ । हाँस्ने दाई भनेर परिचय बनाएका बारपाक सुलिकोट गाउँपालिका सौरपानी रनचोकका अम्बरबहादुर गुरुङ्गलाई उद्वार गरे लगत्तै अहिले आश्रमले सिरानचोक गाउँपालिका भच्चेक घर बताउने ६५ बर्षिय तर्का लामालाई पनि उद्वार गरी आश्रममा राखेको छ ।
लामा बिगत १ दशक देखी गोरखा बजारमा आफ्नो पेट पाल्नकै कार्टुन र पानीका बोतल संकलन गर्ने गर्दथे । सदरमुकामकै कालिमाटी बजारलाई आश्रय स्थल बनाउदै आएका उनी जाडोमा पनि कपडा बिना नै रात कटाउने गर्दथे । दिनभरीको कमाईले दालभात खान समेत मुस्किल हुन थाले पछि पछिल्लो समय उन रक्सीको लतमा लागेका थिए ।
लामाको मुख भित्र घाँऊ हुन थाले पछि काम गर्न समेत समस्या भएको र ह्युम पाईप भित्र सुत्न थाले पछि आश्रमले उनलाई उद्वार गरेको थियो । लामाको उद्वारका लागि गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख ओमप्रकास अधिकारी तथा आश्रमका अभिभावक र अन्य सहयोगीहरुको पहल गरी आश्रम लगिएको मुना मानव सेवाले जानकारी दिईन ।
एक छाक खाना र एक सरो नानाको अभावमा यसरी सडकपेटी र सार्वजनिक स्थलहरुमा बेवारिसे भइ कष्टकर जिनव बिताउन बाध्य सडक आश्रित मानवहरु रहित नगरपालिका निर्माणका लागि गोरखा नगरपालिकाले मानव सेवा आश्रम संग समन्वय गर्दै आएको छ।


