गोरखा समाचारदाता
काठमाण्डौं – बिहीबार देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको असरले राजधानी सहित देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने महाशाखाले जानकारी दिएको हो। शाखाका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।
बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने सम्भावना रहेको जनाएको छ । झरीको सम्भावना भने नरहेको शाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने सम्भावना छ । शनिबारबाट भने मौसममा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले सूचनामा भनेको छ ।



