गोरखा समाचारदाता
काठमाण्डौं – १ बर्ष अगाडी बसमा सवार युवती माथि हस्तमैथुन गरी टाउको माथी विर्य स्खलन गराएका ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।
भरतपुर महानगरपालिका विकास चोकका २१ वर्षीय रबिन सार्की भन्ने रबिन रुचाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बसमा यात्रा गरिरहेको बेला हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको आरोपमा महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार चितवनबाट सार्कीलाई नियन्त्रणमा लिएको थियो ।
सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडियो अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।
काठमाडौंमा रिक्सा चालकका रुपमा काम गरेका सार्कीले पैसाका लागि बसमा हस्तमैथुन गरेको भिडियो बनाएर अपलोड गरेको अनुसन्धानबाट खुल्न आएको उनले बताए । ‘उक्त भिडियो अश्लील साइटमा राखेर पैसा आउँछ भन्ने सोचका साथ उनले यस्तो हर्कत गरेको अनुसन्धानमा देखियो,’ थापाले भने ।
२०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसको पछाडि सीटमा बसेका रुचालले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी युवतीको कपालमा स्खलन गरेका थिए । रुचाल आफैँले त्यो भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि घटना सार्वजनिक भएको थियो । प्रहरीले उनी सवार बा. २ ख ९३२६ नम्बरको बसलाई तत्कालै नियन्त्रणमा लिएको थियो ।
उक्त भिडियो भाइरल भएपछि रुचाल भारत भागेको प्रहरीले बताएको छ । भारतको दिल्ली पुगेर उनले तीन महिन मोमो फ्याक्ट्रीमा काम गरेका थिए । त्यसपछि दिल्लीबाट कश्मीर पुगेका उनी त्यहाँ ४ महिना बसेका थिए । करिब दुई महिना अगाडी नेपाल आएर सार्की आफ्नै घरमा बसिरहेका थिए । उनी आएको सूचना प्राप्त भएसँगै उनलाई चितवनबाट पक्राउ गरिएको हो ।


