गोरखा समाचारदाता
काठमाण्डौं – सोमबार पश्चिमी पहाडी र हिमाली क्षेत्रमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ।
सोमबार बेलुका देखि पश्चिमका केही स्थानमा पश्चिमी वायुको प्रभाव पर्ने हुनाले हिउँ र पानी पर्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो । देशका अरु ठाउँमा भने पश्चिमी वायुको प्रभाव पर्ने छैन ।
पूर्व र मध्यका केही ठाउँमा बिहान लागेको कुहिरो १० बजेतिरबाट पातलिँदै गएर दिउँसो सामान्य बादल लाग्ने सम्भावना छ । तर तराईका भेगमा भने सोमबार दिनभर कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।
कुहिरोसँगै चिसो हावा पनि चल्ने भएकाले सावधानी अपनाउन मौसम पुर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ । पश्चिमी वायुको प्रभाव मङ्गलबार बेलुकासम्म देखिने हुनाले पश्चिमका उच्च पहाडी र हिमाली भेगमा भने बुधबार देखि मात्रै मौसम खुल्दै जाने छ ।




















