गोरखा समाचारदाता
हेटौंडा – प्रदेश तीनको राजधानी र नामका विषयको प्रस्ताव आज प्रदेश सभामा पेश हुँदैैछ । दिउसो हेटौडामा बस्ने बैठकमा प्रस्ताव पेश हुन लागेको हो । राजधानी र नामबारेको प्रस्तावमा आइतबार मतदान गर्ने प्रदेश सभा सचिवालयको तयारी रहेको छ ।
प्रदेशको नाम बाग्मती र राजधानी हेटौडा राख्ने संयुक्त प्रस्ताव नेकपा, काग्रेस, राप्रपा र राप्रपा संयुक्तले प्रदेश संसद सचिवालयमा दर्ता गराएका छन् । हेटौडा राजधानी राख्ने प्रस्तावमा मुख्यमन्त्री डोरमणी पौडेल प्रस्ताबक र प्रतिपक्षी दल कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँ समर्थक रहेका छन् ।
नेकपाको प्रस्ताबमा दर्ता भएको राजधानी हेटौंडा भन्नेमा राप्रपाका रिता माझि, राप्रपा संयुक्तका रिना गुरुङले समर्थन जनाएका छन् । बाग्मती नाम राख्ने प्रस्तावमा बिपक्षी दलका ईन्द्रबहादुर बानियाँले दर्ता गराएका हुन । प्रस्ताबमा नेकपा संसदिय दलका मुख्य सचेतक रामेश्वर फुयाँल, राप्रपाका रिता माझि, राप्रपा संयुक्तका रिना गुरुङ, बिवेकशील साझाका शोभा शाक्यले समर्थक जनाएका छन् ।
त्यस्तै बिबेकशील साझाले राजधानी काभ्रेपलाञ्चोक राख्ने छुट्टै प्रस्ताव दर्ता गराएको छ । काभ्रेपलाञ्चोक राजधानी राख्ने प्रस्तावको प्रस्तावक रमेश पौंडेल र समर्थक बिराजभक्त श्रेष्ठ र शोभा शाक्य रहेका छन् ।
सत्तारुढ नेकपाको प्रदेश तीनको संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेकाले सोही प्रस्ताव प्रदेश सभावाट पारित हुने लगभग निश्चित जस्तै छ । सो प्रस्तावमा कांग्रेस, राप्रपा र राप्रपा संयुक्त सहमत देखिएका छन् । प्रदेश ३ को प्रदेशसभामा १ सय १० जना सांसद छन् । तीमध्ये ८० जना सत्तारुढ नेकपाका सांसद छन् ।
संविधान अनुसार प्रदेशको राजधानी र नाम तत्काल कायम रहेको सांसद संख्याको दुई तिहाइ बहुमतबाट निर्णय गर्नुपर्ने हुन्छ । त्यसअनुसार प्रदेश ३ मा ७४ जना सांसदले प्रस्तावित नाम र राजधानीको पक्षमा मतदान गरे पारित हुनेछ ।




















