गोरखा समाचारदाता
एजेन्सी – इरानले युक्रेनी विमानलाई मिसाइल हानेर खसालेको स्वीकार गरेको छ । इरानको सेनाले आज एक विज्ञप्ती प्रकाशित गर्दै आफ्नो तर्फबाट प्रहार भएको मिसाइल लागेका कारण युक्रेनी विमान खसेको बताएको हो । तर सो आक्रमण नियतबस नभएको इरानी सेनाको भनाई छ ।
सेनाले जारी गरेको वक्तव्यमा मानवीय त्रुटीका कारण भएको आक्रमणले युक्रेनी विमान दुर्घटनामा परेको उल्लेख गरिएको छ । यसअघि पश्चिमा देशका नेताहरूले इरानी क्षेप्यास्त्रका कारण उक्त यात्रुवाहक विमान दुर्घटना भएको दावी गरेका थिए ।
तर इरानले आफ्ना कारण विमान नखसेको दाबी गर्दै आएको थियो । दुर्घटनामा विभिन्न देशका १ सय ७६ नागरिकको मृत्यु भएको थियो । युक्रेनको विमान बुधबार विहान इरानको राजधानी तेहरानबाट उडेको केहीबेरमै दुर्घटनाग्रस्त भएको थियो ।
सो घटना इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरेर मिसाइल आक्रमण गरेको केही समयपछि भएको थियो । लडाकु विमान ठानेर इरानले विमानमाथि आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । सञ्चारमाध्यमहरुमा विमानमा मिसाइल प्रहार गरिएको भिडियो समेत सार्वजनिक भएको थियो ।




















