गोरखा समाचारदाता
गोरखा – गोरखा सदरमुकाममा पुस्तक संकलन अभियानको थालनी भएको छ ।
कारागारमा रहेका कैदी बन्दीहरुका लागि सामुदायिक सेवा केन्द्र गोरखा र जिल्ला प्रहरी कार्यालय गोरखाले संयुक्त रुपमा पुस्तक संकलन अभियानको थालनी गरेको हो ।
‘नयाँ तथा पुराना पुस्तक दान, समाज परिवर्तनमा गरौं योगदान’ भन्ने नाराका साथ अभियानको थालनी गरीएको सामुदायिक सेवा केन्द्र गोरखाले जानकारी दिएको छ । अभियान पौष महिना भरी चल्ने छ ।
कारागारमा रहेका बन्दीहरुले पुस्तकको माग गरे पछि सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयले संयुक्त रुपमा संकलनको अभियानको थालनी गरीएको हो । अभियानमा आफुले पढेर त्यसै थन्कीएका तथा नयाँ पुस्तकहरु सहयोग गर्न सकिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक ओमप्रकाश अधिकारीले बताए ।
अभियानको थालनी सदरमुकामको कालिमाटी बजारबाट सुरु गरीएको छ । शुक्रबार बिहान देखी कार्यक्रमको थालनी भएको हो । ५ दिन सम्म चल्ने अभियानमा ५ हजार पुस्तक संकलन गरेर गोरखा कारागारका बन्दीहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठले बताए ।
पुस्तक संकलनको पहिलो दिनमा नै नयाँ र पुराना गरी थुप्रै पुस्तकहरु संकलन भएको छ । पुस्तक संकलनमा सहयोग गर्नेहरुले सामुदायिक सेवा केन्द्र वा जिल्ला प्रहरी कार्यालयमा लगेर पनि सहयोग गर्न सकिने आयोजकले जनाएको छ ।
प्राप्त पुस्तकहरुको अभिलेख राखिने छ । अभियानमा अर्को महिना देखी जिल्लाको विभिन्न स्थानमा पनी पुरयाइने भएको छ । संकलिन पुस्तक कारागारका बन्दीहरुले अध्ययन गरी सके पछि त्यसलाई सुरक्षित गर्न लाईब्रेरी स्थापना गरी संग्रहीत गर्ने केन्द्रले जानकारी दिएको छ ।


