गोरखा समाचारदाता
हेटौंडा – शुक्रबार दिउसो काठमाण्डौं जाने क्रममा मकवानपुरको ओखरडाँडामा भएको सुमो दुर्घटनामा परी ५ जनाले ज्यान गुमाएका छन । ज्यान गुमाउनेहरु मध्ये ३ जना दुर्घटना स्थलमा र २ जनाको उपचारको क्रममाबाटोमा ज्यान गएको हो ।
काठमाडौं जोड्ने छोटो दूरीको मकवानपुरको इन्द्रसरोवर–३ ओखरडाँडामा टाटा सुमो दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो ।
रौतहटको चन्द्रपुरबाट आएर काठमाडौं जादै गरेको ना. १ ज ३४३३ नम्बरको शिखरापुर यातायातको सुमो दिउँसो १ बजेको दुर्घटनामा परेको थियो । दुर्घटना स्थलमा ३ जनाको ज्यान गएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले बताए ।
मृतकहरुमध्ये रौतहट चपुरका २१ वर्षीय मनिष विक र २० वर्षीय सिर्जना विक रहेको पहिचान खुले पनि बाँकीको भने खुल्न सकेको छैन । दुर्घटनामा परी घाईते भएका सर्लाही बागमती–११ का २२ वर्षीय रञ्जित रिजाल र रौतहट बरथुवा–५ का ५६ वर्षीय जय शाहको काठमाडौंस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गरी चालक हेटौंडा–१७, गंगटेका अनिल विक र सर्लाही बागमती–९ का २७ वर्षीय रञ्जित रिजालको काठमाडौंस्थित मेडिसिटीमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार तीव्र गति रहेको सवारी अनियन्त्रितहुँदा दुर्घटना भएको थियो । जिप सडकबाट २०० मिटर तल खसेको छ ।


