गोरखा समाचारदाता
चितवन – आधा दर्जन छावाको जन्म दिने ‘पूजाकली’ को मंगलबार बिहान मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेकी ३८ वर्षकी हात्ती ‘पूजाकली’ को मृत्यु भएको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहाले जानकारी दिएको छ ।
हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा पालिएको पूजाकलीको मंगलबार बिहान मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए । पूजाकलीको १ वर्ष देखि नियमित उपचार गरिँदै आइएको थियो । उनको उपचारको धेरै खर्च भएता पनि बचाउन नसकिएको निकुञ्ज प्रशासनले जानकारी दिएको छ ।
पूजाकलीले पछिल्लो ६ महिनादेखि खाना कम खाने र दुब्लाउँदै गएको थियोे । विसं २०३८ मा पूजाकलीलाई कोसीटप्पुबाट चितवन ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जले संरक्षण गरेका ६३ हात्तीमध्ये अब ६२ हात्ती छन् । ७४ वर्षसम्मको हात्ती चितवन राष्ट्रिय निकुञ्जमा पालिएको छ । हात्तीको औसत आयु ७० देखि ८० वर्षसम्म हुन्छ ।


