नरेन्द्र ढकाल
गोरखा – गण्डकी प्रदेशले जिल्लाका ६ वटा सडक स्तरोन्नती गर्ने भएको छ ।
अघिकाशं कच्ची सडक रहेको गोरखामा प्रदेश सभा निर्वाचन क्षेत्रका एक÷एक र दुई वटा रणनैतिक सडक निर्माण गर्न लागिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।
‘सडक नै बिकासको पहिलो आधारशिला रहेछ, त्यसैले हामीले यो वर्ष गोरखाका केही महत्वपूर्ण सडक कालोपत्र गर्दैछौं’ उनले भने ‘कम्तीमा एक निर्वाचन क्षेत्र एक सडक पिच गर्ने हाम्रो निति छ, यसले जिल्लाको बिकासमा ठूलो टेवा पुग्छ भन्ने लाग्छ ।’ गोरखामा प्रदेश सभा अन्र्तगत ४ वटा निर्वाचन क्षेत्र छन् ।
जसअनुसार क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ स्थित गोरखा नगरपालिकाको ढुंगागाढे भञ्ज्याङदेखि शहिद लखन गाउँपालिकाको नामजुङसम्मको सडक कालोपत्र हुने भएको छ । सो क्षेत्रका सांसद एवं भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको सिफारिसमा उक्त सडक छनोट गरिएको हो ।
३३ करोड ९१ लाख लागतमा ढुंगागाढे देखि नामजुङसम्मको १२ किलोमिटर सडक कालोपत्रे हुने पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख राम पराजुलीले जानकारी दिए । २०७८ मंसिरसम्म निर्माण सम्पन्न गर्ने गरी लामा कन्टूक्सन काठमाण्डौले निर्माणको जिम्मा पाएको छ । ‘हरेक क्षेत्रका माननियहरुले एउटा सडक रोज्नु भएको छ, अनि दुई वटा रणनैतिक सडक यो वर्ष गोरखामा परेका छन’ पराजुलीले भने ‘डबल बिटामिन ब्लाक पट प्रविधिमा यी सडक कालोपत्र हुन्छन् ।’
क्षेत्र नम्बर १ को ‘ख’ अन्र्तगत पर्न बारपाक देखि लाप्राक जाने सडक कालोपत्र गर्ने कामको भने ठेक्का प्रक्रियाको बाँकी छ । ‘त्यसको टेण्डर नै बाँकी छ, छिट्टै सूचना निकाल्ने तयारी भइरहेको छ’ उनले भने ‘बारपाक–लाप्राक बहु–वर्षीय योजना हो, वजेटको बारेमा मन्त्रालयमा छलफल भइरहेको छ ।’ यस वर्ष ४ करोड भन्दा बढिको काम गर्ने योजना रहेको पराजुलीले बताए । यो मन्त्री बस्नेतको क्षेत्र हो ।
यसैगरी २० करोड लागतमा पालुङटारको राधाकृष्ण मन्दिरबाट पौवाटार हुँदै मिलन चोक जाने सडके पनि कालोपत्र हुने भएको छ । क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ का सांसद हरिशरण आर्चायको सिफारिसमा उक्त सडक छनोटमा परेको हो । उक्त योजनाको ठेक्का सम्झौता भई काम सुरु भइसकेको पूर्वाधार कार्यालय लम्जुङले जानकारी दिएको छ ।
क्षेत्र नम्बर २ कै ‘ख’ प्रदेशमा भने २२ किलोमिटर सडक ग्राभेल हुने भएको छ । यो सांसद प्रकाशचन्द्र दवाडीको क्षेत्र हो । ६ वटा सडक मध्ये अजिरकोटको सिमजुङदेखि भच्चेकबजारसम्म भने ग्राभेल मात्र हुने उनले जानकारी दिए । २२ किलोमिटर दुरीको उक्त सडक ग्राभेल गर्नका लागि २० करोड ५६ लाख बजेटमा बिरुवा नाना गोरखा जेभीसँग पूर्वाधार बिकास कार्यालय लम्जुङले सम्झौता गरेको छ ।
दुई वटा रणनितिक सडकहरु मध्ये एउटाको भने काम सुरु भइसकेको छ । सिरानचोक गाउँपालिकाको चोरकाटे देखि छोप्राक हुँदै चित्रे पोखरीसम्मको ९.५ किलोमिटर सडक कालोपत्र गर्नका लागि २१ करोड २९ लाख बजेट बिनियोजन गरिएको छ । सबै सडकहरु ५.५ मिटर चौडाईमा कालोपत्रे र स्तोन्नती हुनेछन् ।
‘यी सबै सडक ७ मिटरको हुन्छ त्यसमा साडे ५ मिटर पिच हुन्छ, अरु नाली बन्छ’ पूर्वाधार बिकास कार्यालयका प्रमुख पराजुलीले भने ‘यो सडक अहिले बनिरहेका सडक भन्दा धेरै स्तरिय हुनेछ ।’ रणनितिक सडक अन्र्तगत नारेश्वर निवेल खण्डको पनि बोलपत्र आब्हान भएको छ । ३४ करोड बजेट रहेको उक्त योजनाको केही दिन भित्र ठेक्का सम्झौता गरी काम सुरु गर्ने तयारी छ ।
गण्डकी प्रदेशका प्रवक्ता समेत रहेका पूर्वाधार बिकास मन्त्री बस्नेतले ३ वटा सडक आयोजना र एउटा झोलुंगे पुलको शिलन्यास गरेका थिए । जिल्लामा ६ वटा नयाँ योजना थपिएपनि पुरानै रोगको पुनरावृत्ती हुने हो भर्ने सर्वसाधरणमा आशंका छ । यस अघि जिल्लामा परेका अधिकाशं सडक योजना लामो समय देखि अलपत्र छन् । नयाँ योजना पनि त्यस्तै हुने हो की भन्ने सर्वत्र चिन्ता छ ।
तस्बिर कैलासबावु श्रेष्ठ




















