गोरखा समाचारदाता
काठमाण्डौं — बुढीगण्डकी जलविद्युत आयोजनाको डुबानमा पर्ने गोरखाको आरुघाट र आरर्खेत तथा धादिङको खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण भएको छ ।
जग्गा प्राप्ती ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने मुआब्जा निर्धारण समितिले धादिङको सोमबार बिहान र गोरखाको दिउसो मुआब्जा निर्धारण गरेको हो ।
गोरखा जिल्लाको आरुघाट क्षेत्रको जग्गालाई ९ समूहमा र आर्खेत क्षेत्रको जग्गालाई २ समूहमा वर्गिकरण गरि मुल्य निर्धारण गरिएको आयोजना अन्तर्गतको वातावरण, मुआव्जा वितरण, पुनर्वास तथा पुर्नस्थापना इकाई संयोजक कृष्ण कार्कीले जानकारी दिए । जस अन्तरर्गत मुख्य सडक मार्ग, सहायक सडक मार्ग, शाखा बाटोले छोएको मार्ग, शाखा बाटोको मार्ग र मोटर बाटोले नछोएको, गोरेटो वाटोलगायत पक्षलाई आधार मानेर मुआब्जा निर्धारण गरीएको हो ।
जग्गाको अवस्था हेरेर दुवै जिल्लाको प्रतिआना न्यूनतम ५० हजार देखि अधिकतम ७ लाख रुपैयाँसम्म मुआव्जा निर्धारण गरीएको छ ।
बुढीगण्डकी आयोजनाको डुबानमा पर्ने मध्ये अहिलेसम्म ४४ हजार ६ सय ५८ रोपनी जग्गाको २६ अर्ब ८४ करोड ४६ लाख ४९ हजार रुपैयाँ मुआव्जा वितरण भइसकेको छ । चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाकालागि १४ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।



