- ‘गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको छ’
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि खनिएका छन्।
बुधबार पोखरामा भएको चुनावी सभामा बोल्दै प्रचण्डले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लागेको बताए।
गत शनिबार पोखरामा आयोजित चुनावी सभामा देउवाले ‘भारतले ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको’ आरोप लगाएका थिए।
देउवाले बोलेको चार दिनपछि बुधबार पोखरा पुगेर नेकपाको चुनावी सभामा बोल्दै प्रचण्डले त्यो दिन देउवाले सूर्यलाई हत्केलाले छेक्न खोजेको बताए।
‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’
देउवाको कुरा ….के गर्नेलाई भन्दा हेर्नेलाई लाज भनेजस्तो भएको प्रचण्डको भनाइ छ।
उनले गिरिजाप्रसाद कोइरालाको पार्टी झुठ बोल्ने र बेइमानी पार्टी भएकोमा चिन्ता लागेको बताए।
‘गिरिजाप्रसादको पार्टी झुठो बोल्ने, बेइमानी गर्न छोड्नुस् भन्ने मेरो सुझाव छ,’ उनले भने, ‘झुठो बोलेर दिउँसै रात पार्ने? शेरबहादुरजीले यस्तो उट्पट्याङ गर्ने?’
उनले प्रतिपक्षी दल राम्रो होस् भन्ने आफूले चाहेको पनि बताए।
‘तपाईंहरू ओरालो लाग्नुभएको छ, कांग्रेस इतिहास होला। के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो?,’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’
उनले कांग्रेस संविधान निर्माणको सहयात्री भएकाले साह्रै तल खसेको आफूले हेर्न नसक्ने भए।
‘गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौतामा मैले हस्ताक्षर गरेको छु। त्यही गिरिजाप्रसाद कोइरालाको पार्टी यति झुठो बोल्ने बेइमानी कुरा गर्दा कताकता चिन्ता लागेको छ,’ प्रचण्डले भने,‘झुठो बोल्न बेइमानी गर्न छोड्नुस्। होइन भने तपाईंहरू जसरी ओरालो लाग्नुभएको छ यही बुद्धि हो भने इतिहासमा नेपाली कांग्रेस थियो भन्ने ठाउँमा पुग्न बेर छैन।
उनले कांग्रेसको अहिलेको बुद्धिले ऊ प्रतिपक्षमा रहने छाँट पनि आफूले नदेखेको बताए।
‘गिरिजाबाबुले ल है नेपाल तपाईंको जिम्मा लगाएर जाँदैछु भनेको झलझली सम्झेको छु। अहिले शेरबहादुरजीले यस्तो उट्पट्याङ कुरा गरेर नेपाली जनतालाई उल्लु बनाउन खोजेको देखेर टिठ लागेको छ,’ प्रचण्डले भने।
setopati



