गोरखा समाचारदाता
गोरखा – बुढीगण्डकी आयोजना प्रभावित मध्ये बाँकी क्षेत्रको मुआब्जा तोक्न उर्जा मन्त्रालयले इकाईलाई पत्राचार गरेको छ ।
गोरखा र धादिङ्गको बिच भागमा बन्ने बुढी गण्डकी जलबिद्युत आयोजना मध्ये बाँकी रहेको गोरखाको आरुघाट बजार र आरुर्खेत र धादिङ्गको विशालनगर खहरेको मुआब्जा तोक्न मन्त्रालयले बूढीगण्डकी जलविद्युत आयोजना मुआब्जा निर्धारण अन्तर्गतको इकाईलाई पत्राचार गरेको हो ।
आयोजनाको बाँकी मुआब्जा वितरण र वातावरणीय काम गर्नका लागि गठित इकाईलाई उर्जाले लेखेको पत्रमा सम्बन्धित निकायहरुसँग समन्वय गरि तत्कालै काम अघि बढाउन भनिएको छ ।
मंसीर ३ गते पठाएको पत्रमा उर्जाले आयोजनाको डुबानमा पर्ने बजारक्षेत्रको मुआब्जा तोक्न भनिएको छ । आयोजनाको मुआब्जा वितरण र बाँकी वातावरणीय अध्ययन पूरा गर्न गठित इकाईको म्याद कात्तिक १४ गते सकिएपछि मुआब्जा निर्धारण लगायतको काम गर्न अलमल भएको थियो ।
मुआब्जा निर्धारण समितिको संयोजक रहने दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले पनि इकाईको म्याद थप भएपछि मुआब्जा निर्धारणको काम अघि बढाउने बताउँदै आएका थिए । उर्जाले पठाएको पत्रमा इकाईको म्याद कात्तिक ११ गतेदेखि लागू हुने गरि १ वर्षका लागि थपिएको छ ।
मुआब्जाका लागि चाहिने आवश्यक वजेट पनि विनियोजन भईसकेकाले बाँकी काम अघि बढाउन पत्रमा भनिएको छ । चालु आर्थिक बर्ष बूढीगण्डकी आयोजनाका लागि १४ अर्ब भन्दा बढी रकम विनियोजन भएको छ । उक्त बजेटले बाँकी क्षेत्रको मुआब्जा वितरण गर्न अपूग हुने भएपनि थप बजेटका लागि अभाव नहुने उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पत्रमा उल्लेख गरीएको छ ।
इकाईको म्याद बारेको अन्यौल सकिएकाले अब मुआब्जा निर्धारणको काम छिट्टै अघि बढाइने गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताए । मुआब्जा निर्धारण समितिले २ वटा कार्यदल मार्फत वबजारक्षेत्रको अध्ययन गरि खाका तयार पारिसकेको छ ।
वातावरण हेरेर १ साताभित्रै मुआब्जा निर्धारण गरिन सकिने प्रजिअ लामिछानेको दावी छ । यती बेला आयोजनाको डुवानमा पर्ने बजारक्षेत्रका जनप्रतिनिधिहरु मुआब्जा निर्धारणको माग गर्दै आन्दोलनरत छन् ।
उनीहरुले ५ गते जिल्ला प्रशासन कार्यालय गोरखामा धर्ना दिए भने ६ गते धादिङ्ग जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । मंसीर ९ भित्र पनि मुआब्जा तोक्न नसके आयोजनाको इकाई कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ ।
आन्दोलनरत पक्षले मुआब्जा निर्धारणमा अझै आलटाल भएमा प्रभावित क्षेत्रमा स्थानियलाई साथ लिएर चरणबद्व आन्दोलनको तयारी गरी रहेको गोरखा जिल्ला आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल र धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले बताए ।



