गोरखा समाचारदाता
काठमाडौं – सोमबार हुने भनिएको मन्त्रिपमण्डल पुनर्गठन रोकिएको छ।
आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मन्त्रिमण्डल पुनगर्ठन गर्न सैद्धान्तिक सहमति दिएको दावी गरिएको थियो।
पार्टी सचिवालयले प्रधानमन्त्री ओलीलाई मन्त्रि हेरफेर गर्न सहमति दिएपछि सोमबार बिहानैदेखि मन्त्री हुन नेताहरुको दौडधुप चलेको चर्चासमेत थियो। तर, बालुवाटार स्रोतले भने मन्त्रिमण्डल पुनगर्ठन कुनै दिन हुने भए पनि सोमबार भने नहुने पक्का भएको जानकारी दिएको छ।
प्रधानमन्त्री ओली मन्त्रिमण्डल पुनर्गठन गर्ने मुड रहे पनि अहिलेका मन्त्रीलाई कसरी हटाउने भन्ने प्रक्रियाबारे निक्र्यौल नहुँदा मन्त्रिमण्डल पुनर्गठनको विषयमा चर्चामा आउने तर, यत्तिकै सेलाउने गरेको छ।
प्रधानमन्त्री ओली कुनै पनि मन्त्रिलाई असफलको ट्याग नलागोस भन्नेमा सचेत रहेको बालुवाटार स्रोत बताउँछ। त्यसैले मन नपराए पनि प्रधानमन्त्री ओलीले कसैलाई पनि पदमुक्त गर्न सकिरहेका छैनन्। मन्त्रिहरुले सामुहिक राजीनामा दिँदा पनि असक्षमताको सन्देश जाने भएकाले त्यसमा पनि प्रधानमन्त्री ओली हच्किएको बताइन्छ।
बेला बेला प्रधानमन्त्रीले मन्त्रिमण्डल पुनर्गठनको हल्ला बालुवाटारबाटै चलाइने गरिएको छ। रेडजोनमा परेका सम्भावित मन्त्रीहरुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिउन भन्ने सोच प्रधानमन्त्रीको रहेको बालुवाटार स्रोतले बतायो।
त्यसैले पनि मन्त्रिमण्डल पुनर्गठन र रेडजोनका मन्त्रीहरुको नाम बालुवाटारबाटै चुहाइएको हो। उनीहरु आफैले राजीनामा दिए प्रधानमन्त्री ओलीलाई सजिलो हुने बालुवाटारको बुझाई छ। तर, रेडजोनमा परेका भनिएका मन्त्रीहरुले भने आफै राजीनामा नदिँदा मन्त्रिमण्डल पुनर्गठनको चर्चामात्र हुने गरेको हो।
नयाँ मन्त्रीलाई राष्ट्रपतिले सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ। नयाँ मन्त्री नियुक्त गर्दा त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिनुपर्छ। तर सोमबार अपरान्हसम्म नयाँ मन्त्रीलाई नियुक्त गर्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएको शितल निवास स्रोतले जनाएको छ।



