गाेरखा समाचारदाता
गाेरखा – जनै पूर्णिमाका अवसरमा बिहीबार गाेरखा र आसपासका जलाशय एवम् शक्तिपीठमा भिडभाड लागेकाे छ । जनै आमन्त्रणका लागि गोरखा बजारको पुष्करतिर्थमा रहेको रानी पोखरी परिषरमा बिहानै देखी भिड लागेको थियो ।
तागाधारीहरूले नयाँ जनै लगाउनका लागि बिहानै उठी स्नान गरी गुरु पुरोहितद्वारा वैदिक मन्त्रोच्चारण सहित सप्त ऋषिलाई तर्पण गरी जल सेचन गराइएको जनैलाई धारण गर्ने परम्परा छ ।
कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र बसिष्ठ लगायतका सप्तऋषिलाई तर्पण दिने गरिएकाले यसलाई ऋषि तर्पणीका रुपमा पनि लिने गरिन्छ ।
गुरु पुरोहितबाट हातमा रक्षाबन्धन बाँध्नाले वर्षभर शरीरको रक्षा हुने जनविश्वास रहेकाे छ ।
आजको दिन केराउ, भटमास, सिमि, बोडी, मास, चना, मस्याङ लगायतका नौ थरिका गेडागुडी मिसाएको क्वाँटी खाने गरिन्छ ।
आज गोरखा बजारमा रहेको ब्रम्हाकुमारी ईश्वरी विश्व बिद्यालयमा समेत रक्षा बन्धन कार्यक्रम भएको थियो ।




