गोरखा समाचारदाता
गाेरखा – पछिल्लो समय कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउने खेल सुरु भएको नेकपाका नेपा चुडामणी खड्काले बताएका छन् ।
लियो क्लब अफ गोरखाले शनिबार आयोजना गरेको दोस्रो गाइजात्रा मेलालाई सम्बोधन गर्दै खड्काले कम्युनिष्ट पार्टीलाई राष्ट्रिय तथा अन्तराष्टिूय रुपमा आक्रमण हुन थालेको खुलासा गरे । ‘आफुलाई परिवर्तनकारी सम्झनेहरु अहिले खतरनाक खेलमा लागेका छन्’ प्रतिनिधी सभा सदस्य समेत रहेका खड्काले भने ‘कम्युनिष्टलाई कमजोर बनाउन देशभित्रबाट मात्रै हैन, विदेशी शक्ति समेत लगाएर आक्रमणको प्रयास हुदैछ ।’
जनताका आधारभुत आवस्यकतालाई हेरेर आफुहरुले विकासको योजना अघि सारेको बताउदै उनले विकास र परिवर्तनका निम्ती आफुले कुनै कसर बाँकी नराख्ने बताए । समाज परिवर्तनका लागि युवाहरु जाग्नुपर्ने बेला आएको उनको तर्क छ ।
देश आर्थिक सम्बृद्धिको दिशातिर अघि बढेको समेत उनले बताए । क्लबका अध्यक्ष विदुरवल्लभ भट्टराईको अध्यक्षतामा भएको मेलामा लियो डाइरेक्टर अञ्जित कुमार श्रेष्ठ, गोरखा जेसिज गोरखाका अध्यक्ष राजिव अधिकारी लगायतले बोलेका थिए ।
कार्यक्रममा विभिन्न साँस्कृतिक तथा सांगितक कार्यक्रम हाँस्य व्यग्ङ्ग प्रहसन, जादु लगायतका प्रस्तुतीहरु देखाइएको थियो । पछिल्लो समयकी सर्वाधिक चर्चित गायिक शान्ति श्री परियारले बोल मायाँ, पछ्यौरी तानेर जस्ता विभिन्न गीत गाएर दर्शकलाई मनोरञ्जन दिएकी थिइन् ।
यसैगरी लोकप्रिय गायक दिपसागर थापा, हरेराम परियार, जादुगर दिपक थापा लगायतले पनि आफ्नो प्रस्तुति देखाएका थिए । कार्यक्रमबाट संकलन भएको रकमले जिल्लामा रहेका अनाथ बालबालिकाहरुलाई सहयोग गर्ने क्वलका पूर्व अध्यक्ष यम बसेलले जानकारी दिए ।



