गोरखा समाचारदाता
४ बुँदे घोषणा पत्र जारी गर्दै नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी प्रदेशको बैठक सकिएको छ ।
गोरखा सदरमुकाममा शनिबार भएको बैठकले जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने सेवा र स्वास्थ्यकर्मीलाई परेको अफ्ट्याराहरुलाई मध्यनजर गर्दै सरकारको ध्यानाकर्षणका लागि ४ बुँदे घोषणापत्र जारी गरिएको हो ।
संघले जारी गरेको घोषणापत्रमा बिभिन्न क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको हालसम्म पनि सरकारले समायोजन प्रकृया अघि नबढाएकाले तत्काल उनिहरुको मनोबल नगिर्ने गरी सम्मानजनक रुपले समायोजन गर्न माग गरिएको छ ।
समायोजन गर्दा तहगत रुपमा दरबन्दी सृजना गरी सूची निकाल्न समेत संघले माग गरेको छ ।
त्यस्तै स्थानीय तह र प्रदेशले करारमा राखेका स्वास्थ्यकर्मीहरुलाई कानुन विपरित कम तलबमा सम्झौता गरि काममा लगाइएको पाइएको भन्दै तत्काल सच्याउन समेत घोषणापत्र मार्फत माग गरिएको संघका शरद श्रेष्ठले बताए ।
बैठकमा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।



