काठमाडौं : असार २६ गते । कर्णाली नदिमा बेपत्ता हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु हमाल शाहीको शव भेटिएको छ । सर्केगार्ड गाउँपालिकाको वडा नम्बर ४ को नागर स्थित कर्णाली नदीको किनारमा शव भेटिएको हो ।
घटना भएको २२ दिन पछि उपाध्यक्षको शव भेटिएको हो । अन्य १० जना भने अझै बेपत्ता अवस्थामा नै रहेका छन् । प्रमुख जिल्ला अधिकारी ढोलराज ढकालका अनुसार उपाध्यक्ष हमालका श्रीमान धिरेन्द्रबहादुर शाहीले औँलामा लगाएको औँठीका आधारमा पहिचान गरेका हुन् ।
नदीको किनारमा महिलाको शव भेटिएको खबर आएपछि बुधबार प्रमुख जिल्ला अधिकारी सहतिको टोली सिमकोट विमान स्थलबाट हेलिकोप्टरमा घटनास्थल गएको थियो । शव भेटिएको स्थान सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल हिँड्नु पर्छ ।
असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडु बिसौनी र कैलावालु क्षेत्रमा महेन्द्र बोलेरो जीप कर्णाली नदीमा खस्दा उपाध्यक्ष शाहीसहित ११ जना बेपत्ता भएका थिए ।



