भारत : असार २६ गते । भारतको कर्नाटक राज्यको राजधानी बैंगलोरमा भवन भासिँदा एकै परिवारका ३ जना नेपालीको मृत्यु भएको छ । सो घटनामा एकै परिवारका ३ नेपाली सहित ५ जनाको मृत्यु भएको हो । घटनामा ज्यान गुमाउने बझाङको थलारा गाउँपालिका–२ बगाडाका स्थायी बासिन्दा हुन् । उनीहरू रोजगारीका लागि सपरिवार बैंगलोरमा थिए ।
बैंगलोरको शिवनगरस्थित ‘साइ आदि अम्बल’ अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नी २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्काको अपार्टमेन्टको भुइँतला भासिँदा मृत्यु भएको खड्काका भाइ कमलले बताएका छन् । मृतक खड्का ६ वर्षदेखि उक्त अपार्टमेन्टमा काम गर्दथे ।
पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो । मंगलवार राति करिब २ बजेतिर भासिएको भवनबाट १२ घण्टापछि शव निकालिएको मृतकका परिवारले बताएका छन् ।
रोजगारीका क्रममा बैंगलोरमै रहेका मृतकका काका रामबहादुर खड्काले नजिकै निर्माणाधीन ६ तले भवन ढल्दा अर्को ४ तले भवनलाई धक्का दिएको र उक्त भवनको भुइँतला भासिएको जानकारी दिए । ज्यान गुमाउने अन्य २ जना भारत बिहारका रहेको भारतीय मिडियाले लेखेका छन् । घटनामा ७ जना घाइते भएका छन् ।



