भारत : असार २६ गते । भारतीय कांग्रेसमा एकपछि अर्को संकट थपिदै गएको छ । कर्नाटकपछि गोवामा भारतीय कांग्रेस सामु संकट पैदा भएको छ । गोवामा कांग्रेसका १५ मध्ये १० विधायकले पार्टी छोडेका छन् र उनीहरु समूह बनाएर भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका छन् ।
सन् २०१७ मा भएको चुनावमा राज्यको सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेससँग अब मात्रै पाँच विधायक रहेका छन् । ४० सदस्य रहेको गोवा विधानसभामा अब भाजपाका विधायकको संख्या २७ पुगेको छ ।
भाजपाले गोवामा अरु विभिन्न दलसँग मिलेर सरकार बनाएको थियो । अब उ एक्लै बलियो देखिएको छ । विपक्षी नेता चन्द्रकान्त कावलेकरको नेतृत्वमा कांग्रेसका विधायकले पार्टीबाट राजीनामा दिएका हुन् ।
यसअघि कर्नाटकमा कांग्रेसका १० विधायकले राजीनामा दिएका छन् । यी विधायकको राजीनामाको सम्बन्धमा सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ ।



