नरेन्द्र ढकाल
असार २६ गते । जिल्लाका स्थानीय तहले विपद् व्यवस्थापनमा सचेतना अपनाएका छन् । भई परि आउने विपद् जन्य घटनासँग जुध्नका पूर्व तयारी समेत सुरु गरिएको छ । सोही अनुरुप सबै स्थानीय तहले विपद् व्यवस्थापन र्शीषकमा बजेट विनियोजन गरेको देखिन्छ । २ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेको यहाँ आफ्नो आवश्यकता र वजेटको आकार अनुसार आगामी आर्थिक वर्षका लागि विपद् व्यवस्थापनमा रकम छुट्याइएको छ । गोरखा नगरपालिकाले विपद् व्यवस्थापनका लागि २० लाख वजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा भने १० छुट्याइएको थियो । ‘हामीले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेका छौं’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘विपद् व्यवस्थापन ऐन पास भइसकेको छ, अब नियमावली र कार्यविधि पनि बनाउछौं, आगामी वर्ष विपद् व्यवस्थापन योजना निर्माण गर्ने लक्ष्य छ ।’
उक्त रकमबाट पूर्व तयारीका लागि सामाग्री किन्ने र बाँकी रहेको रकम विपद् व्यवस्थापन कोष जम्मा गर्ने योजना बनाइएको छ ।
यसैगरी पालुङटार नगरपालिकाले २० लाख बजेट प्रस्ताव गरेको छ । चालु आ. वमा पनि २० लाख छुट्याएको पालुङ्टारले तारजाली खरिद, विपद्मा परेका परिवारलाई राहत दिने लगायतका काममा उक्त रकम खर्च गरेको छ । उता अजिरकोट गाउँपालिकाले भने आगामी वर्षका लागि १५ लाख रकम विनियोजन गरेको छ । उक्त रकम मध्ये ५ लाखबाट विपद् व्यवस्थान केन्द्र स्थापना गर्ने योजना बनाइएको छ । गत वर्ष पनि १० लाख छुट्याएको सो गाउँपालिकाले जम्मा १ लाख रकम खर्च गरेको छ । चालु वर्षको बाँकी ९ लाख र आगामी वर्षका १० लाख रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्न लागिएको अजिरकोट गाउँपालिकाले जानकारी दिएको छ ।
सबै भन्दा धेरै सिरानचोक गाउँपालिकाले ८५ लाख बजेट विपद् व्यवस्थापनको क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ । गत वर्ष पनि १ करोड रकम छुट्याएको उक्त गाउँपालिकाले आगामी वर्ष २५ लाखको आकस्मिक कोष निर्माण गर्ने र बाँकी रकम विपद् जोखिम न्यूनीकरणका विभिन्न कार्यक्रममा खर्च गर्ने योजना बनाइएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
यसैगरी भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक सुलिकोट गाउँपालिकाले १५ लाख रकम छुट्याएको छ । चालु आ.व मा पनि १५ लाख रकम वियोजन गरेको उक्त गाउँपालिकाले विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सो रकम खर्च गर्ने योजना बनाएको अध्यक्ष विष्णु भट्टले जानकारी दिए ।
उत्तरी गोरखाको धार्चे गाउँपालिकाले भने अघिल्लो आर्थिक वर्ष देखिको रकम खर्च गर्न सकेको छैन् । पहिलो वर्ष ५० लाख वजेट विनियोजन गरेको उक्त गाउँपालिकाले चालु आर्थिक वर्षमा पनि १० लाख रुपैयाँ छुट्याएको थियो । तर हालसम्म दुबै वर्षको ५ लाख रकम पनि खर्च नभएकाले यस वर्ष आगामी वर्ष उक्त शीर्षकमा बजेट वियोजन नगरिएको प्रमुख प्रशासकिय अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । दुबै वर्षको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरेको धार्चेले उक्त रकमबाट विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ । यसैगरी चुमनुब्री गाउँपालिकाले भने १० लाख वजेट विनियोजन गरेको छ । गत वर्ष पनि १० लाख छुट्याएको उक्त गाउँपालिकाले उत्तरी गोरखाका विभिन्न ठाउँमा गएको पहिरो हटाउन सो रकम खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत भिमसेन श्रेष्ठले जानकारी दिए ।
उता आरुघाट गाउँपालिकाले भने हरेक वडाहरुलाई समेत विपद् व्यवस्थापन र्शीषकमा १/१ लाख रकम प्रदान गरेको छ । आगामी आर्थिक वर्षमा ७ लाख रकम छुट्याएको उक्त गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा चालु आवमा छुट्याइएको २१ लाख समेत मौजाद छ ।
भिमसेन थापा गाउँपालिकाले पनि १० लाख छुट्याएको छ । चालु आर्थिक वर्षमा छुट्याइएको १० लाख समेत बाँकी रहेकाले विपद् व्यवस्थापन योजना निर्माण गरी आगामी वर्ष विभिन्न कार्यक्रम गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी दिए ।
यता शहिद लखन गाउँपालिकाले भने विपद् व्यवस्थापन शीर्षकमा २८ लाख वजेट विनियोजन गरेको छ । सो मध्ये ३ लाख रकमबाट विपद् प्रतिकार्य योजना निर्माण गर्ने र बाँकी रकम अन्य काममा खर्च गर्ने योजना रहेको प्रमुख प्रशासयिक अधिकृत जीवन आलेले जानकारी दिए । चालु आवमा १५ लाख रकम छुट्याएको शहिद लखनले अँधेरीमा पहिरोले बगाएका ३ घरलाई राहत उपलब्ध गराउनका साथै तिनघरे लगायतका क्षेत्रमा भएका विपद्मा सहयोग गरिएको उनले बताए ।
त्यसैगरी गण्डकी गाउँपालिकाले पनि विपद् व्यवस्थापनका लागि आवश्यक रकम विनियोजन गरेको अध्यक्ष होमबहादुर रानाले जानकारी दिए । ‘भइपरि आउने विपद्को लागि पूर्व तयारी गर्नुपर्छ भन्नेमा हामी सचेत छौं’ उनले भने ‘त्यसकालागि आवश्यक वजेटको प्रवन्ध गरिएको छ ।’ वजेटको उपर्शीषक निर्माण भएपछि रकम एकिन हुने उक्त गाउँपालिकाले जनाएको छ ।




















