गोरखा समाचारदाता
अनुदान सम्झौता गर्न प्राधिकरणले दिएको समय सिमा शनिवार सकिएको छ । लाभग्राहीको सूचीमा रहेर पनि ४ वर्ष सम्म प्राधिकरणको सम्र्पकमा नआएका भूकम्प पिडितहरुलाई अन्तिम मौका दिइएको थियो । ‘प्राधिकरणले सार्वजानिक सूचना जारी गरी २१ गतेसम्म अनुदान सम्झौता गर्न उहाँहरुलाई आग्रह गरेको थियो’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख रामशरण आर्चायले भने ‘अब समयसिमा सकियो सम्झौता नगर्नेहरुको नाम लाभग्राही सूचीबाट हटाउन सक्ने प्रबल संभावना छ ।’
७१ हजार ०३८ लाभग्राही रहेको गोरखामा ६४ हजार ९०४ जनाले पहिलो किस्ता बुझेका छन् । भूकम्पमा घर भत्किएका ६ हजार १३४ भूकम्प पिडितको नाम लाभग्राही सूचीमा भएपनि उनीहरु प्राधिकरणको सम्र्पकमा आएका थिएन् । अन्य जिल्लामा पनि यस्तै समस्या रहेपछि प्राधिकरणले सूचना निकालेर अन्तिम पटक मौका दिएको थियो । ‘अर्को सूचना नआएसम्म अब सम्झौता गर्ने काम हुन्न’ उनले भने ‘सम्झौता मात्र गएर हुन्न घर पनि बनाउनु पर्छ ।’ सम्झौता गरेकाहरुले असार मसान्तसम्म पहिलो किस्ताको रकम बुझिसक्नु पर्ने प्राधिकरणले बताएको छ ।
समय सिमा शनिवार सकिए पनि कतिले सम्झौता गरे भन्ने कुरा स्थानीय तह मार्फत विवरण आएपछि मात्र एकिन हुने राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वय इकाई गोरखाले जानकारी दिएको दिएको छ । २१ गते सम्म अनुदान सम्झौता नगर्ने र सम्झौता गरेपनि असार मसान्त सम्म पहिलो किस्ता नबुझ्ने भूकम्प पिडितलाई लाभग्राहीको सूचीबाट हटाएर अनुदानबाट बञ्चित गराउने प्राधिकरणको तयारी छ ।



