गोरखा समाचारदाता
असार २१ गते । नेपालमा पुरै मनसुन भित्रिन अझै १ साता लाग्ने अनुमान गरीएको छ । गत वर्ष भन्दा १२ दिन ढिला गरी भित्रिएको मनसुन सक्रिय नहुँदा खेतीपाती देखी मानिसको दैनिक जिवन यापनमा प्रतिकूल असर परेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्यभारतमा रहेको मनसुन पश्चिम नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने अनुमान छ ।
हाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले मनसुन अहिले निष्क्रिय अवस्थामा रहेको बताउदै सक्रिय हुन १ साता लाग्ने अनुमान गरीएको हो । तत्काल झमझम पानी पर्ने सम्भावना देखिन्न भन्दै प्रधानाङ्गले मध्यभारतमा रहेको न्यून चापीय क्षेत्र बिस्तारै माथि सरिरहेको बताए ।
गत वर्ष असार तेस्रो साता भारी वर्षा भएको थियो । एकनासले सबैतिर पानी पर्ने सम्भावना नरहेको भन्दै खण्ड–खण्डमा सामान्य रूपमा क्षणिक वर्षा हुने सम्भावना देखिएको प्रधानाङ्गले बताए ।
गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ ।




















