गोरखा समाचारदाता
गोरखा नगरपालिका–४ फिनामका महिलाहरुले खाजा खर्च कटाएर सिलाई मेसिन किनेका छन् । वडा कार्यालयको महिला सिप बिकास कार्यक्रम मार्फत सिलाई कटाई तालिम लिइरहेका १७ जना महिलाले खाजा बापत पाउने रकमबाट उक्त मेसिन खरिद गरेका हुन् । ‘सिप सिकेर मात्र नहुँदो रहेछ, अभ्यास भएन भने बिर्सिन्छ’ सहभागी सीता थापाले भनिन्, ‘बरु हामी घरबाटै ल्याएर खाजा खान्छौं, मेसिन किन्दिनुन सर भन्यौं, उहाँहरुले हाम्रो माग पुरा गरिदिनुभयो ।’
उहीहरुले दैनिक पाउने ५० रुपैयाँ खाजा भत्तालाई संकलन गरी बाँकी रकम वडा कार्यालयले थप गरिदिएको छ । करिब ५ लाख लागतमा ३ महिने आधारभूत सिलाई कटाई तालिम प्रदान गरी बिहीबार उनीहरुलाई मेसिन हस्तान्तरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । ‘उहाँको लगाब देख्दा हामीलाई पनि सहयोग गरौं भन्ने लाग्यो’ वडा अध्यक्ष खोपबहादुर अधिकारीले भने ‘खाजा पनि खान्नौं भन्नुभयो, खाजाको पैसामा केही थप गरि मेसिन खरिद गरिदिएका हौं ।’
उनीहरुलाई एक कार्यक्रमका विच गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले मेसिन हस्तान्तरण गरेका छन । मेसिन हस्तान्तरण गर्दै नगरप्रमुख पन्तले सिकेको सिपलाई सदुपयोग गरी नगरपालिकाले राखेको हरेक नागरिकलाई स्वरोजगार बनाउने लक्ष्यमा साथ दिन सहभागीहरुलाई आग्रह गरेका थिए । ‘तपाइँहरुले सिकेको सिपलाई आफैमा सिमिति राख्नु हुने छैन’ उनले भने ‘यहाँहरुको व्यवासायिक जीवनको म कामना गर्न चाहान्छु ।’ कार्यक्रममा उपप्रमुख बिनाकुमारी श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत कृष्णकुमारी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।




















