गोरखा समाचारदाता
गोरखा नगरपालिकालाई तेस्रो बर्ष पनि पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको छ । नगर क्षेत्रमा रहेका १४ वटा स्वास्थ्य संस्थाबाट खोप सम्बन्धि बिभिन्न गतिविधी सञ्चालन गरेको नगरपालिकाले यस बर्ष पनि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । २०७४ साल असार १९ गते गोरखा नगरलाई पूर्ण खोप पालिका घोषणा गरिएको थियो । कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख राजनराज पन्तले उक्त कुराको घोषणा गरेका हुन् ।
पूर्ण खोप दिगोपना सुनिश्चितताका लागि नगर स्वास्थ्य शाखाले बिभिन्न कार्ययोजना निर्माण गरी बर्षभरी कार्यक्रम सञ्चालन गरेको कार्यालयले जनाएको छ । नगरक्षेत्रमा नियमित खोप पाइरहेका १५ महिना मुनीका बालबालिकाको संख्या ८ सय ६१ जना रहेको शाखाको तथ्यांकमा छ । त्यस्तै गरी १६ देखि २४ महिना सम्मका ६ सय ६७ जना रहेछन् । घोषणा गर्नुअघि शाखाले १४ वटै वडामा सर्वेक्षण एवं तथ्यांक संकलन गरेको थियो । कार्यालयले घोषणा नगरलाई पूर्ण खोप सुनिश्चित गर्न ५ वटा आधारलाई मानेर कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
नगरप्रमुख पन्तको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विनाकुमारी श्रेष्ठ, स्वास्थ्य कार्यालयका प्रमुख दिपक सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष किशोरजंग थापा, फिनाम स्वास्थ्य चौकीका रामशरण अधिकारी लगायतले बोलेका थिए ।



