नरेन्द्र ढकाल/गोरखा
चैत्र २१ गते । जिल्लामा सञ्चालित संस्थागत विद्यालय (बोर्डिङ) हरुले मनपरी शुल्क असुलेको अभिभावकहरुले गुनासो गरेका छन् । नयाँ शैक्षिक सत्रसँगै एकै साथ चर्को शुल्क वृद्धि गरिएको उनीहरुको आरोप छ । ‘यस अघि ९ सय थियो अब १२÷१३ सय तिर्नुपर्छ रे’ एक अभिभावकले भने ‘एकैसाथ यत्रो शुल्क बढाएपछि त कसरी पढाउन सकिन्छ ।’ जिल्ला सदरमुकाममा सञ्चालित अधिकाशं बोर्डिङ स्कूलहरुले शुल्क वृद्धि गरेको उनीहरुले बताएका छन् ।
२०७२ सालमा तत्कालिन जिल्ला शिक्षा शिक्षा अधिकारीको संयोजकत्वमा रहेको शुल्क निर्धारण समितिले कम्तिमा प्रति विद्यार्थी ११०० देखि बढिमा २६०० सम्म शुल्क लिन पाउने व्यवस्था गरेको थियो । हाल कतिपय विद्यालयले उक्त निर्णय उल्लंघन गरेको पाएको छ । ‘अन्य जिल्लाको तुलनामा गोरखाको शुल्क कमै छ’ निजि तथा आवासिय विद्यालय अर्गनाइजेस (प्याब्सन) का जिल्ला अध्यक्ष सिताराम तिवारीले भने ‘शुल्क बढाउने बारेमा हामीले कुनै पनि नीतिगत निर्णय गरेका छैनौं ।’
जिल्लामा सञ्चालित सबै विद्यालयको स्तर एकै किसिमको नभएपनि वर्गिकरण नगरिएकाले समस्या भएको उनको भनाई छ । समितिले निर्धारण गरेको शुल्कका आधारमा रहेर केही विद्यालयले सामान्य शुल्क बढाएको हुन सक्ने तिवारीले बचाउ गरेका छन् । ‘अहिलेको महंगी, शिक्षकहरुको सेवा सुबिधा हेर्दा विद्यालय चलाउन निकै गा¥हो छ’ उनले भने ‘यदी कसैले बढाएको भए तोकिएकै शुल्क भित्र १००÷५० बढाएका होलान्, त्यस्तो मनपरी केही छैन् ।’
यदी नीजि विद्यालयहरुले मनपरी शुल्क बढाएको पाइए कारवाही गर्ने गोरखा नगरपालिकाले चेतवानी दिएको छ । नयाँ शैक्षिक सत्रको मौका छोपी सहमती बेगर शुल्क वृद्धि गरेको भए जानकारी गराउन अभिभावकलाई नगरपालिकाले आग्रह गरेको छ । ‘हाम्रो स्वीकृती नलिई पूर्व सहमती विना शुल्क बढाइएको पाइएमा हामी तत्काल स्पष्टिकरण सोध्छौ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘जुन विद्यालयले आफू खुसी शुल्क बृद्धि गर्छ ऊ कारवाहीको भागिदार हुन्छ ।’ गोरखा नगरपालिका बैज्ञानिक शुल्क निर्धारणको पक्षमा रहेको भन्दै उनले आपसी छलफलबाट मात्र विद्यार्थीको फि बढाउन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
जिल्लामा ४६ वटा संस्थागत विद्यालयको रहेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईको तथ्याङ्क छ । ती मध्ये झण्डै २० वटा गोरखा नगरपालिका भित्रै छन् । विद्यालयहरुले भर्ना शुल्क अतिरिक्त, मासिक शुल्क, खेलकुद, लाइब्रेरी, कम्पयुटर, अतिरिक्त क्रियाकलाप, यातायात लगायतका विभिन्न शीर्षकमा पनि चर्को शुल्क लिने गरेको अभिभावकहरुले बताएका छन् । जसले गर्दा निजि विद्यालयमा छोराछोरी पढाउन समस्या भएको उनीहरुको गुनासो छ । विद्यालयले मनपरी रुपमा शुल्क वृद्धि गर्दा पनि सरोकारवाला निकाय मौन रहेको भन्दै अभिभावकहरुले आक्रोश समेत पोखेका छन् ।



