गोरखा समाचारदाता
चैत्र २० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै भने, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्दछ । हाम्रो योजनाले, हाम्रो बजेटले, हाम्रो कार्यक्रमले ।’
उनले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए । उनले सुशासनलाई पनि प्राथमिकतामा राख्न योजना आयोगलाई सुझाव दिए । उनले रोजगारी सिर्जनाका लागि शिक्षा नीति गुणात्मक सुधार हुनुपर्ने पनि बताए ।



