गोरखा समाचारदाता
चैत्र १९ गते । आइतबार बेलुकी आएको हावाहुरीले बाराका धेरै जसो बस्ती खण्डहरमा परिणत भएको छ । सोही दिनको हावाहुरीले बाराको फेटा बढी प्रभावित भएको छ ।
हावाहुरी र असिना पानीका कारण अन्नपातका साथै फलफुलका बोट र खेतमा बारीमा लगाएको अन्नपात पुर्ण रुपमा नष्ट भएको छ ।
आइतबार देशैभरि सामान्य मेघ गर्जन सहित वर्षा भैरहेको थियो, स्वभाविक रुपमा चैत महिनाको वर्षा भएकाले कतिपय ठाउँमा असिना पनि परेको थियो र अधिकांश ठाउँमा सामान्य हावाहुरी पनि तर, तराईको बारा र पर्सामा मौसम ज्यानमारा वनेर आएको थियो । सोच्दै नसोचेको सामान्य हुरी वतास र पानी एकाएक प्रकोप वनेर आउँछ भन्ने । दिनचर्या सामान्य र औसत रुपमै चलिरहेको थियो ।
अधिकांश मानिसहरु आ–आफ्नो वासस्थानतर्फ फर्कंदै थिए, कतिपय कामकै चटारोमा थिए । त्यत्तिकैमा एकाएक निकै तीव्र गतिमा चलेको हावाले घरका छानाहरु उडाउनुका साथै धनजनको समेत क्षेति भएको थियो। निकै ठूलो आवाज र गतिका साथ आएको हावाहुरीले मानिसहरुलाई वेसाहारा जस्तै वनायो ।
हुरीको सवै भन्दा ठूलो चपेटामा पर्यो बाराको फेटा गाउँ । जहाँ अन्यत्र भन्दा वढी पर्यो हुरीको चपेटा । हेर्दा हेर्दै धुलोले कुइरीमण्डल वन्यो वस्ती । आँखाले भ्याएसम्म हुरीले उँडाएका विभिन्न सामान र मानिसहरुको चिच्याहट निकै त्रासदीपूर्ण वन्न पुग्यो । टिन र फुसका घरहरु मात्रै होइन, पक्की घरहरुनै पनि हुरीको झोक्काले भत्किए । कयौं त्यसमै चेपिए, कयौं घाइते भए ।
एकाएक आएको हुरीले विजुलिको पोल ढल्दा र रुखहरु भाँचिंदा त्यसकै शिकार भए कयौं मानिसहरु । जतिवेला हुरीले वितण्डा मच्चाएको थियो, त्यतिवेला रातीको समय भएको हुनाले एक अर्कालाई सहयोग गर्ने र उद्धार गर्ने काम पनि प्रभावित वन्यो । धेरै वेर त चलेन हुरी तर करिव आधार घण्टामै सखाप पार्यो वस्ती । हुरी चलिसकेपछिको वस्ती यस्तो वन्यो कि, त्यसको प्रकृति र स्वरुप शक्तिशाली भुकम्पले पुर्याएको क्षति जस्तो छ ।
अर्कोतिर, हुरीमा परेर घाइते भएकाहरुलाई समयमा अस्पताल पुर्याउन पनि गाह्रो भयो । घाइतेको संख्या धेरै भएकाले उपचारमा कठिनाइ भयो र रगत समेत अभाव भयो । यद्यपी, त्यस क्षेत्रका विभिन्न अस्पतालमा उनीहरुको उपचार भयो, कयौंको उपचार जारी छ र कयौंलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।



