नरेन्द्र ढकाल/गोरखा
चैत्र १९ गते । गोरखा नगरपालिका ६ र ८ को सिमानामा पर्ने पैरेनी खोला अतिक्रमणमा परेको छ । दुई वडाको सिमाना रहेको उक्त खोला अतिक्रण गरि त्यहाँका स्थानीयले घरको आँगन तथा बाटो निर्माण गरेका छन् । ‘खोला मिचेर आँगन बनाइएको छ, गाडी पार्किङ गर्ने ठाउँ निर्माण भएको छ’ एक स्थानीयले भने ‘कुन दिन ठुलो भल आएर बितण्डा मच्चाउँछ हामी पो समस्यामा पर्ने भयौं ।’
त्यहाँका केही स्थानीयले आफ्नो घर जान र सवारी साधन पार्किङ गर्नका लागि भन्दै खोलामा ह्युमपाइप राखि कल्बट बनाएका छन् । मानिसहरुलाई आवतजात र सवारी साधन पार्किङ गर्नका लागि उक्त संरचना बनाइएको जस्तो देखिन्छ । कतिपय घरमा भने त्यसले आँगनको काम समेत गरेको छ । ‘त्यहाँ केही व्यक्तिले आफूखुसी कल्बट बनाएका छन भन्ने सुन्नमा आयो’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने ‘मैले तुरुन्त पत्र काटेर छलफलमा बोलाएको छु ।’ उक्त विषयमा छलफल गर्न वडा अध्यक्ष, टोल बिकास संस्था र सम्बन्धित व्यक्तिलाई पत्र काटिएको छ । छलफल पछि आवश्यक निर्णय लिइने नगरप्रमुख पन्तले बताए ।

सार्वजानिक जग्गा र खोलाको अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि उक्त कल्बट बनाइएको हो । सानो ह्युमपाइप राखेर बनाइएको उक्त कल्बड वर्खामा जुनसुकै बेला पनि थुनिन सक्ने प्राविधिकरु बताउँछन् । ‘कति पानी आउँछ, कत्रो ह्युमपाइप राख्यो भनि त्यो पानी पास हुन सक्छ भन्ने इस्टमेट नगरी त्यस्तो संरचना बनाउन मिल्दैन’ गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले भने ‘अर्को तर्फ नगरपालिकाको स्वीकृती नलिई उहाँहरुले गतल काम गर्नुभएको छ ।’ सो क्षेत्रमा गोरखा नगरपालिकाले एउटा कल्बट निर्माण गरेको छ । हस्पिटलचोक केही माथिबाट बराहको माथिल्लो गाउँ जानका लागि नगरपालिकाले उक्त कल्बट बनाएको हो । त्यसको देखासिखी गर्दै अन्य स्थानीयहरुले आफै बनाएका हुन् । नगरपालिकाले बनाएको उक्त कल्बटमा ९० सेन्टि डायमिटरको ह्युमपाइप राखिएको छ ।
उक्त संरचना निर्माणमाका बारेमा टोल सुधार संस्था र वडा कार्यालय समेत बेखबर छन् । ‘वडालाई कसैले पनि जानकारी गराएको छैन’ वडा नम्बर ८ का अध्यक्ष कृष्णबहादुर केसीले भने ‘बरु मैले थाहा पाउने बित्तिकै टोल बिकासको अध्यक्षलाई तपाईहरुको टोलमा यस्तो काम भएको छ रे नी भनेर सोधेको थिएँ । उहाँसँग पनि केही सल्लाह भएको रहेनछ ।’ पछिल्लो समय व्यक्तिगत संरचना निर्माणका क्रममा खोलानाला, बनजंगल, सडक एवं बाटाघाटाहरु अतिक्रमणको चपेटामा परेका छन् । जसले गर्दा बिभिन्न खालका प्राकृतिक बिपत्ती समेत निम्तिने गरेको छ । यदी उक्त खोलामा पनि पानीको निकास बन्द हुन गए ठुलो विपत्ती निम्तिन सक्ने विज्ञहरुको बताउँछन् ।



