- परीक्षा जेठ २५ र २६ गते
गोरखा समाचारदाता
चैत्र १८ गते । नेपाली कामदारहरुले निकै रुचाएको गन्तव्य दक्षिण कोरिया पछिल्लो समय पनि युवाको आकर्षण घटेको छैन । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्यामा बृद्वी भई नै रहेको छ ।
दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने परिक्षामा मात्रै यस पटक ९२ हजार ३ सय ७६ जनाले आवेदन फारम भरेकोबाट सहजै अनुमान गर्न सकिन्छ ।
आवेदन परेको मध्ये उत्पादन मूकलक क्षेत्रतर्फ ६३ हजार ४ सय ८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८ सय ८९ ले आवेदन फारम भरेका इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाको आवेदन यही चैत ८ गते राति १२ बजेदेखि खुल्ला गरिएको थियो । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रका लागि ७ हजार ५० र पशुपालनतर्फ ३ हजार कामदार लैजाने छ ।
कामदारले आफूले फाराम भर्दाकै क्रममा उल्लेख गरेका क्षेत्रमा रोजगारीका अवसर प्राप्त गर्नेछन् भने कोरिया सरकारले तोकेको श्रमिकका न्यूनतम् पारिश्रमिक पाउँदै आएका छन् । १ दशकको अवधिमा विभिन्न चरणमा सञ्चालित भाषा परीक्षामा ४ लाख ८३ हजार ४९ जनाले सहभागिता जनाएको छन् । सन् २०१८ मा भाषा परीक्षा उतीर्ण गर्ने ७ हजार ९ सय ९६ जना कोरिया गइसकेका छन् । हालसम्म कोरियामा ५८ हजार ७ सय ९ जना नेपालीले रोजगारीको अवसर प्राप्त गरेका इपिएस शाखाले जनाएको छ ।
विवरण सच्याउन पनि सकिने
आवेदन फारममा कुनै त्रुटी भए यहीँ चैत २२ गतेसम्म विवरण सच्याउन सकिने शाखाले जनाएको छ । सानो त्रुटीले आवेदकले इपिएस प्रक्रियामा सहभागी हुनु नपाउने अवस्था सिर्जना हुन नदिन फारममा कुनै त्रुटी भए सच्याउने व्यवस्था मिलाइएको निर्देशक कृण्णप्रसाद खनालले बताउनु भयो ।
सुरक्षित रोजगारी, आकर्षक सेवा सुविधा, काम गर्ने समयावधिको सुनिश्चिता लगायत कारणबाट नेपाली युवाको कोरिया मोह बढेको अनुमान सहजै गर्न सकिन्छ । कोरिया जाने नेपाली युवाले ४ वर्ष १० महीनासम्म कोरियामा कामको अवसर पाउनेछन् ।
त्यस्तै सोही अवधिमा १ पटक आफ्ना परिवारका सदस्यलाई कोरिया समेत लैजान पाउने छन् । कोरिया सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लगायत सामाजिक सुरक्षा समेत प्राप्त गर्नेछन् ।
भाषा परीक्षा आगामी जेठ २५ र २६ गते
भाषा परीक्षा आगामी जेठ २५ र २६ गते सञ्चालन हुने छ । सन् २०१९ को इपिएस परीक्षा भाषा र सीप तथा क्षमता परीक्षण गरी २ चरणमा हुनेछ । भाषा परीक्षाको उत्पादन मूलक क्षेत्रको १०० अङ्क र कृषि तथा पशुपालन क्षेत्रको ९० अङ्क हुने छ । परिक्षामा पढ्ने २० र सुन्ने २० गरी कूल ४० प्रश्न हुनेछन् । दुवैमा २५÷२५ गरी ५० मिनेटको परीक्षा हुनेछ ।
भाषा परीक्षा उतीर्ण व्यक्तिले मात्र दोस्रो चरणको सीप तथा क्षमता परीक्षणमा सहभागिता जनाउन पाउनेछन् ।



