- ताप्लेमा खानेपानी आयोजना निर्माणको काम अलपत्र
मोहसिन अलि मियाँ/गोरखा
चैत १८ गते । गोरखा नगरपालिका २ ताप्लेको अधेरीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माणको काम करिब एक बर्ष अघि नै सकिनुपर्ने थियो । फण्डबोर्डको आर्थिक सहयोगमा पद्धती विकास सेवा केन्द्रले निर्माण सुरु गरेको सो खानेपानी आयोजना गत बैशाखमै सम्पन्न गरेर समुदायलाई हस्तान्तरण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म करिब ३० प्रतिशत पनि काम नसकिदा घरघरमा स्थानीय निराश बनेका छन् । करिब डेढ सय घरधुरीलाई खानेपानी उपलब्ध गराउने लक्ष्य सहित आयोजना निर्माणको जिम्मा लिएको फण्डबोर्ड र पद्धती नामक संस्था एवं उपभोक्ता समितिको लापरवाहीका कारण काम अलपत्र भएको स्थानीयको आरोप छ । ‘डेढ बर्षमा घरघरमा पानी ल्याउछौ भनेर काम सुरु गरेका थिए, आज २ बर्ष भन्दा बढि भयो’ स्थानीय कमलप्रसाद श्रेष्ठले भने ‘काम आधा पनि भएको छैन, महिनौ भयो काम रोकिएको, अहिले न पद्धतीले वास्ता गर्छ न समिति नै काम गर्छ ।’
अचम्मको कुरा त के छ भने फण्डबोर्डले संचालन गरेको परियोजना नै सकिएपछि सो आयोजना ११ महिनादेखि कर्मचारी बिहिन बनेको छ । २०७३ साउनदेखि काम सुरु गरेर २०७५ बैशाख १५ सम्ममा निर्माणको सम्पन्न गर्ने सम्झौता भएको थियो । फण्डबोर्डको नियम अनुसार लागत बजेटमा ३ प्रतिशत रकम लगानी र २० प्रतिशत श्रमदान उपभोक्ताले ब्यहोर्नुपर्ने थियो सोही अनुसार काम सुरु नहुदै साविकको ताप्ले –५ का झण्डै १ सय २० घरधुरीबाट ४ हजारका दरले समितिले रकम संकलन समेत गरेको स्थानीयले बताएका छन् । ‘घरमा पानी आउछ भनेपछि २ बर्षअघि नै हामीले ४ हजारका दरले पैसा तिरयौ’ श्रेष्ठले भने ‘काखमा स–साना बच्चा बोकेर तिसौ दिनसम्म हाम्रा महिलाहरुले श्रमदान गरेका छन्, अहिले न पैसा फिर्ता पाइन्छ, न पानी नै आउछ ।’
योजना निर्माणका क्रममा फण्डबोर्डले ३५ लाख ७६ हजारमध्ये विभिन्न चरणमा गरी उपभोक्ता समितिको खातामा ३१ लाख २५ हजार ३ सय ८७ रुपैया जम्मा गरिसकेको छ । त्यस्तै १ सय २० उपभोक्ताबाट संकलन भएको ४ लाख ७८ हजार रकम पनि समितिकै खातामा छ । यता पद्धती विकास सेवा केन्द्र पनि योजना अलपत्र पर्नुमा समिति नै दोषी रहेको बताउछ । ‘योजनामा हामीले त समन्वय मात्रै गरिदिने हो, फण्डबोर्डले सिधै समितिकै खातामा पैसा हाल्दिने नियम हुन्छ, प्राबिधिक सहयोग मात्रै हाम्रो हुन्छ’ संस्थाकी स्वच्छता प्रवद्र्धन प्रतिनिधी रचना लामिछानेले भनिन् ‘सबै जिम्मा समितिको नै हो, सामान किन्नेदेखि काम लगाउने सबै उहाँहरुले नै हो, गत बैशाखबाट कर्मचारी पनि छैनन्, समिति नै प्यासिव भइदियो, अब काम कसरी गर्ने हामी नै अलमलमा छौ ।’
हालसम्म भएको खर्चको हिसाब किताव पनि समितिले उपलब्ध नगराएको उनले बताइन् । ‘फिल्डमा कति काम भयो, कतिको सामान किन्नुभयो, बैंकमा कति रकम बाँकी छ, उपभोक्ताबाट कति रकम उठेको छ, त्यो केहि रेकर्ड हामीसंग छैन’ उनले भनिन् ‘समितिले हामीलाई केहि रेकर्ड नै बुझाएको छैन, त्यसले हामीलाई समेत अफ्ठेरो बनाएको छ ।’
यता समितिका अध्यक्ष देवीप्रसाद श्रेष्ठ भने पद्धतीकै कारण निर्माण कार्यमा ढिलाई भएको बताउछन् । पद्धतीबाट खटिएका प्राविधीकले गरेको गलत इष्टमेटका कारण निर्माणको काममा ढिलाई भएको उनको तर्क छ । ‘सुरुमा इन्जिनियरले एउटा इष्मेट गर्नुभयो हामीले त्यही अनुसार सामान ल्यायौ’ अध्यक्ष श्रेष्ठले भने ‘तर बिचमा इष्टमेट भयो, सामान कुनै काम लागेन, सबै फिर्ता गर्नुपरयो, त्यसले आर्थिकदेखि धेरै कुरामा घाटा लाग्यो ।’कम दररेटमा कारण पनि सामान खरिद गर्न र कामदार लगाउनमा समस्या भएको उनको गुनासो छ ।
प्राविधिकले १ करोड ७ लाख इष्टमेट गरेपनि फण्डबोर्डबाट जम्मा ३५ लाख मात्रै प्राप्त भएकाले अरु रकम उपभोक्ताबाट उठाएर काम गर्नु परेको समितिले जानकारी दिएको छ । उपभोक्ता समितिका अन्य सदस्य भने समितिभित्र कै किचलोका कारण पनि निर्माण कार्यमा ढिलाई भएको बताउछन् । ‘समिति भित्रै समस्या छ’ उपभोक्ता समितिका उपाध्यक्ष खिलबहादुर थापा ‘कहाँ के कति खर्च भयो हामी कसैलाई थाहा हुदैन, न मिटिङ हुन्छ, न काम अघि बढ्छ ।’ झण्डै ३ किलोमिटर तलबाट लिफ्टिङ गरेर ताप्लेको गाइखुर, नेवारगाउँ, थापागाउँका घरघरमा खानेपानी ल्याउने लक्ष्य सो योजनाले राखेको छ ।



