गोरखा समाचारदाता
चैत १६ गते । आगामी वैशाख ५ गतेदेखि हुने आठौँ राष्टिय खेलकूद प्रतियोगिताको खेल तालिका सार्वजनिक गरीएको छ । तालिका अनुसार धरैजसो खेल बाँकेमा हुने भएको छ ।
खेलतालिका अनुसार बाँकेमा मात्रै १७ वटा खेल हुनेछ । त्यसैगरी दाङमा ७, रुपन्देहीमा ४, बर्दियामा ४, ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौँमा १÷१ खेल हुने छ ।
वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याडबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुनेछन् । त्यसैगरी दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याटमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुनेछन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना गरिनेछ । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुनेछन् भने ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौँमा गल्फ प्रतियोगिता गरिने राखेपले जनाएको छ ।
प्याराग्लाइडिङ र गल्फका लागि पूर्वाधार नभएकाले कास्की र काठमाडौँमा गर्न लागिएको हो । प्रतियोगिताको औपचारिक उद्घाटन आगामी वैशाख ५ गते नेपालगञ्ज रङ्गशालामा र समापन पनि वैशाख ११ गते गरिनेछ ।



