गोरखा समाचारदाता
चैत्र १५ गते । भेनेजुएला सरकारले विपक्षी नेता हुँवा गुवाइडोलाई १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक लगाएको छ । गुवाइडोको आर्थिक विवरण अस्वभाविक देखिएको भन्दै सरकारले उनलाई सार्वजनिक पद धारण गर्न रोक लगाएको हो ।
भेनेजुएलाका महालेखा परिक्षक एल्भिस अमोरोसोले सरकारको निर्णय कानूनसम्मत रहेको बताएका छन् । गुवाइडोले भने सरकारी निर्णय आफुले अस्वीकार गरेको बताएका छन् । उनले प्रतिबन्धको घोषणा गर्ने महालेखा परिक्षक अमोरोसो महालेखा परिक्षक नै नभएको समेत दावी गरेका छन् ।
आधिकारिक राष्ट्रिय परिषद्सँग मात्र महालेखा नियन्त्रक नियुक्त गर्न सक्ने अधिकार हुने उनको भनाई छ । यसअघि उनका प्रमुख सहयोगी रोबर्टो मर्रेरोलाई योजनाबद्ध रूपमा विध्वंश मच्चाएको आरोपमा पक्राउ गरिएको थियो । गुवाइडोले गत जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै भेनेजुएलामा राजनीतिक संकट बढेको छ ।



