गोरखा समाचारदाता
चैत्र १५ गते । सिरानचोक गाउँपालिकाले विपद् व्यवस्थापनको कामलाई विशेष जोड दिएको छ । सोही अनुरुप पूर्व तयारीका कामहरु सुरु भएका छन् । ‘वर्तमान समय भोग्दै आइरहेका समस्याहरुको निराकरण गर्दै भविष्यमा आइपर्ने प्रकोपलाई न्यूनीकरण गर्न हामी सचेत छौं’ गाउँपालिका अध्यक्ष राजु गुरुङले भने ‘सोही अनुरुप हामीले पूर्व तयारी सुरु गरेका हौं ।’ विपद् व्यवस्थापन योजना बिना गरिएको बिकास दिगो नहुने भन्दै सिरानचोकले छिट्टै गाउँपालिका विपद् व्यवस्थापन योजना कार्यविधि निर्माण गर्ने उनले बताए । सोही अनुरुप गाउपालिका स्तरीय विपद प्रतिकार्यको लागि सामुदायिक पहल विषयक तालिम समेत भएको छ ।
युरेपेली कमिसन र एडिसिको सहयोग, केयर नेपाल र आइसिसियो साझेदारी, स्वाँरा सघन गाउँबिकास केन्द्र र सिरानचोक गाउँपालिकको आयोजना भएको उक्त तालिम बिहीबार सकिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै केयर नेपालका वरिष्ठ प्राविधिक विशेषज्ञ सुरेन्द्र बलमे विपद् जुनसुकै बेला पनि आउन सक्ने भएकाले स्थानीय सरकारले पनि त्यसको पूर्व तयारी गर्नु पर्ने बताएका थिए । तालिममा सिकेको सिपलाई स्थानीय स्तरमा बन्ने योजना र कार्यक्रममा समावेश गरी व्यवहारमा उर्तान उनले आग्रह गरेका छन् ।

कार्यक्रममा अध्यक्ष गुरुङ, उपाध्यक्ष रीता देवकोटा, वडा नम्बर ३ का अध्यक्ष ज्ञानेन्द्र गुरुङ लगायतले मन्तव्य राखेका थिए । तालिममा उक्त गाउँपालिकाका ८ वटै वडाध्यक्ष सहित अन्य जनप्रतिनिधि र स्थानीय सरोकारवाला गरी १०४ जनाको सहभागिता रहेको प्रयास परियोजना २ का संयोजक अभिषेक ओझाले जानकारी दिए । तालिमको क्रममा कृतिम घटना अभ्यास समेत गरिएको थियो ।



