गोरखा समाचारदाता
चैत्र १४ गते । सरकारले संवैधानिक व्यवस्था अनुसार संघीय संरचनाका लागि सबै कर्मचारी समायोजनको काम सम्पन्न भएको जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरि केही प्राविधिक कर्मचारीहरु अभाव भए करारमा लिएर काम चलाउन प्रदेश र स्थानीय तहलाई पत्राचार गर्ने जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अनुसार सबैभन्दा बढि कर्मचारी स्थानीय तहमा परिचालन गरिएको बताए ।
स्थानीय तहमा ६६ हजार ९ सय ८ जना कर्मचारी समायोजन गरिएको हो । त्यसैगरी प्रदेशमा २२ हजार ७ सय ९७ र संघमा ४८ हजार ४ सय ९ जना कर्मचारी समायोजन गरिएको छ । लोक सेवा आयोगले तत्काल २० हजार विभिन्न तहको कर्मचारीको लागि आवेदन खुला गर्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सरकारले यही आर्थिक वर्ष भित्र आवश्यक सबै कर्मचारीहरुको व्यवस्था गर्ने योजना पनि अघि सारेको छ ।



