गोरखा समाचारदता
चैत्र १३ गते । जिल्लामा हाल ८७.५ प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा पढ्दै छन् । करिब ६४ हजार विद्यार्थी रहेको गोरखामा अधिकांशले सामुदायिक विद्यालयमा पढ्ने गरेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई गोरखाले जानकारी दिएको छ । ‘हाम्रो जिल्लाको डाटा हेर्दा सस्थागत भन्दा सामुदायिक विद्यालयमै विद्यार्थीका आकर्षण बढि पाइयो’ कार्यालय प्रमुख खेमराज पौडेलले भने ‘यो निकै खुसिको कुरा हो ।’ बाँकी १२.५ प्रतिशतले मात्र सस्थागत –निजि) विद्यालयमा पढ्ने गरेको तथ्याङ्कले देखाएको छ ।
ग्रामिण भेगका विद्यार्थी, शहरी क्षेत्रका गरिब तथा विपन्न परिवारका मानिसहरुले आफ्ना छोरा छोरीलाई सामुदायिक विद्यालयमा पढाउछन भन्ने आम बुझाई पाइन्छ । संस्थागत विद्यालयमा पढाई राम्रा हुने बुझाइका कारण केही अभिभावकले ऋण काडेरै भएपनि छोराछोरी पढाउने गर्छन । ‘अहिलेको तथ्याङ्क हेर्ने हो भने ८ हजारको हाराहारी विद्यार्थी संस्थागत विद्यालयमा पढ्दै छन’ पौडेलले भने ‘५६ हजार भन्दा बढि विद्यार्थी सामुदायिक विद्यालयमै देखिन्छन् ।’ यो कक्षा १ देखि प्लस टु सम्मको तथ्याङ्क हो ।
संस्थागत विद्यालयमा छोराछोरी पढाइ रहेकाहरुले पनि आधारभूत तह सकेपछि माथिल्लो कक्षाका लागि भने सामुदायिक विद्यालय नै रोज्ने गरेको विज्ञहरुले बताएका छन् । जसअनुसार सामुदायिक विद्यालयका तल्ला कक्षाहरुमा विद्यार्थीको संख्या न्यून भएपनि कक्षा ८ भन्दा माथि चाप बढी देखिन्छ । ‘अभिभावकहरुमा अंग्रेजीको मोह बढि देखिन्छ । बोर्डिङमा पढाउदा बेस राम्रो बन्छ भन्ने कतिपयको सोच होला’ महेन्द्रज्योति मावि दरबार मार्गका प्रधानाध्याक लक्ष्मणबाबु आर्चायले भने ‘माथिल्लो कक्षामा पुगेपछि फेरी सामुदायिक ल्याउने प्रचलन छ ।’
उक्त कुरा जारी एसइई परीक्षाको तथ्याङ्कले समेत प्रमाणित गरेको छ । हाल एसइई दिइरहेका ४ हजार ४०३ विद्यार्थी मध्ये ३७७ जना मात्र संस्थागत विद्यालयका विद्यार्थी रहेको जिल्ला शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी दिएको छ । यो संख्या कुल परिक्षार्थीको ८.५ प्रतिशत मात्र हो । पछिल्लो समय पुरुषहरु बैदेशिक रोगजारमा जाने र महिलाहरुले सदरमुकाम वा शहरी क्षेत्रमा बसेर छोराछोरीलाई नीजि विद्यालय पढाउने गरेको पाइन्छ ।
आधारभूत तह उत्र्तीण गरेपछि सरकारी वृत्ति बिकास सुबिधा लिनका लागि ती विद्यार्थीहरु पनि सामुदायिक विद्यालयमा पढ्न जाने विज्ञहरु बताउँछन् । ‘एमबिबिएसको प्रवेश परीक्षा सहित सरकारले शिक्षा क्षेत्रमा दिने वृत्तिबिकास सुबिधा लिन कक्षा ८ देखि सामुदायिक विद्यालयमा पढ्नु पर्छ भन्ने छ’ आर्चायले भने ‘त्यहीँ कारणले पनि हामी कहाँ ८ कक्षा देखि माथि विद्यार्थीहरुको चाप बढि देखिन्छ ।’ जिल्लामा ४३४ सामुदायिक र ४६ वटा नीजि विद्यालय सञ्चालनमा छन् ।


